८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका विभिन्न भागमा वर्षा,बाढीको खतरा कहाँ–कहाँ छ ?



अ+ अ-

काठमाडौं । देशका विभिन्न भागमा जारी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको भन्दै सरकारले सतर्क रहन सबैमा आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाले बाढी र पहिरोको जोखिम बढाएकाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार भोलि र पर्सी प्रदेश १,२ र ३ का तपाई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । साथै, तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्दो क्रममा रहेका छन् । पूर्वानुमान अनुसार यी नदीहरुले सर्तकता तह पार नगर्ने तर कोशीका सहायक नदी सुनकोशी र तमोरमा बहाव तुलनात्मक रुपमा बढी हुने जनाइएको छ ।

महाशाखाका अनुसार, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, सुनसरी, ओखलढुंगा, रामेछाप, सिन्धुली, रामेछाप सिन्धुलीमा बहने नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना छ । त्यस्तै, चितवन, पर्सा, गोरखा, डडेल्धुरा र त्यस आसपासका क्षेत्रमा पनि पानी परिरहेको छ ।

यता, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं उपत्यका र आसपासका जिल्ला, चितवन, बारा, पर्सा, नवलपरासी, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, सल्यान र आसपासका जिल्ला तथा प्रदेश २ का पहाड र चुरेबाट बहने केही साना नदीहरुमा पनि बाढी आउने प्रक्षेपण महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार, मंगलबार पनि देशका विभिन्न नदीहरुमा बाढी जाने सम्भावना छ ।

असार अन्तिमदेखि मनसुन सक्रिय हुँदा देशभर वर्षा भइरहेको छ । अविरल वर्षापछि तराई क्षेत्रमा डुबान र पहाडमा पहिरो गएका छन् । डुबान र पहिरोले दर्जनौंको ज्यान गइसकेको छ भने कैयन हराइरहेका छन् । बाढीले बिस्थापित हुनेको संख्या पनि उत्तिकै छ ।