काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापनसम्बन्धी विधेयकबाट क्लिन फिड लागू गरेरै छाड्ने अडान दोहोर्याएका छन् ।
सोमबार संसदको विकास समिति बैठकमा उनले क्लिन फिडसम्बन्धी व्यवस्था हटाउन माग गर्दै संशोधन दर्ता गराउने सांसदलाई उक्त संशोधन फिर्ता लिन आग्रह गरे ।
क्लिन फिड लागू गर्न नहुने भन्दै सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले संशोधन दर्ता गराएका छन् । सोमबारको छलफलमा भने उनीहरु सहभागी थिएनन् ।
‘जतिचोटी छलफल गरे पनि क्लिन फिड हुँदैन भनेर मान्न सकिँदैन । यो विधेयकको मूल आत्मा नै मार्ने कुरा सम्भव छैन । यो बुझेर झिकिदिन आग्रह गर्दछु’ उनले भने ।
क्लिन फिड राष्ट्रियता र रोजगारीसँग पनि जोडिएको कारणले यसलाई लागू गरेर छाड्ने उनले बताए ।
‘कोकाकोलाको विज्ञापनमा साहसिक देखाइएको छ । त्यो नेपालको हिमालको फेदीमा खिच्न सकिन्थ्यो, नेपाली कलाकारहरुले अवसर पाउँथे । त्यसकारण यो क्लिन फिड बजारमात्र नभएर हाम्रो कला संस्कृतिसँग पनि जोडिएको छ । आम्दानीको स्रोतसँग पनि जोडिएको छ, कलाकारले पाउने रोजगारीसँग पनि जोडिएको छ ।’
उनले अमेरिका, भारत, कोरियालगायतका देशमा समेत क्लिन फिड रहेको बताउँदै उनले यो अन्तरराष्ट्रिय अभ्यास भएको बताए ।