१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको छलफल सकियो निर्णय गर्न बाँकी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बारेको छलफल सकिएको छ ।
नेपाली कांग्रेसको पार्टीभित्र आम चासोको विषय रहेको पार्टी संरचना निर्माण र महाधिवेशनको विषयमा छलफल सकिए पनि निर्णय गर्न भने बाँकी छ । बैठकको पहिलो एजेन्डा संशोधित नियमावली मस्यौदालाई सर्वसम्मतिले पारित गरेको कांग्रेसले दोस्रो एजेण्डा महाधिवेशनको सम्बन्धमा पनि सर्वसम्मति निर्णयको प्रयास गरिरहेको छ ।

अन्तरिम संरचना गठन गर्दा विजय गच्छदारले नेतृत्व गर्नुभएको तत्कालीन लोकतान्त्रिक फोरमका सदस्यहरु तथा अन्य दलबाट कांग्रेसमा आएका सदस्यहरुलाई कसरी समावेश गर्ने भन्ने कार्यविधि पनि तय भएको छैन । सोमबारको बैठकमा पनि उपसभापति गच्छेदारले आफ्नो पार्टी व्यवस्थापन अझै नभएको गुनासो गर्नुभएको थियो ।

बैठकमा अन्तरिम संरचना गठन गर्दा मतदानबाट नेतृत्व चयन गर्ने कि सहमतिको आधारमा नेतृत्व चयन गर्ने भन्ने विवादका बारेमा चर्को बहस भएको थियो । साथै, अन्तरिम संरचना गठनसँगै १४औं महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्ने विषयमा पनि तर्कहरु आएका थिए । नियमावली मस्यौदाका विषयमा पनि विवाद थियो ।

महाधिवेशनबारे छलफलमा सभापति शेरवहादुर देउवाले चारवर्षे कार्यकालमा महाधिवेशन गर्न असम्भव भइसकेकाले थप एक वर्षभित्र महाधिवेशन गर्न जतिसक्यो छिटो तल्लो तहको अधिवेशनको प्रक्रियामा जानुपर्ने बताउनुभएको केन्द्रीय सदस्य मोहन बस्नेतले बताउनुभएको छ । आफू कार्यकाल बढाउन पक्षमा नरहेको भन्दै महाधिवेशनको अहिले नै कार्यतालिका नतोक्ने स्पष्ट पार्नुभएको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने धारणा राखेपछि सभापति देउवाले पहिले अन्तरिम संरचना गठनपछि मात्र महाधिवेशनको कुरा आउने बताउनुभएको थियो । महामन्त्री पूर्णबहादुर खड्काले वैधानिक बाधा अड्चन नफुकाई कसरी अघि बढ्ने भन्दै पहिले प्रक्रियागत व्यवस्था मिलाउनुपर्ने बताउनुभएको थियो । सभापति देउवाले पहिले संक्रमणकालीन व्यवस्था कसरी छोट्टाएर जान सकिन्छ भन्ने बारेमा सबैले एकमतका साथ निकास निकाल्नुपर्ने बताएको केन्द्रीय सदस्य सीता गुरुङले जानकारी दिनुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं नियमावली मस्यौदा समितिकी सदस्य ईश्वरी न्यौपानेका अनुसार बैठकको प्रमुख एजेन्डाको रुपमा रहेको अन्तरिम संरचना गठन महाधिवेशनको बारेमा छलफल सकिए पनि निर्णय भने बैठकको अन्तिममा मात्र हुने सम्भावना छ । तल्लो तहको अधिवेशन गर्ने तर कसरी गर्ने, अन्य पार्टीबाट कांग्रेसमा समाहित भएका सदस्यलाई कसरी समेट्ने भन्नेबारेमा कार्यविधि बनाउन समय लाग्ने भएकाले बैठकको अन्तिममा मात्र यसबारे निर्णय आउने उहाँ बताउनुहुन्छ ।

१३औं महाधिवेशनको बाँकी अवधिका लागि मात्र अन्तरिम संरचना गर्दा एक वर्षभित्र दुईपटक तल्लो तहको अधिवेशन गर्नुपर्ने भएकाले एकै अधिवेशनमा १४औं महाधिवेशनका लागि संरचना बनाउने विषयमा पनि सहमति जुटाउने प्रयास प्रयास भइरहेको केन्द्रीय सदस्य मोहन बस्नेतले बताउनुभएको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने भएकोले सम्भ्व भएसम्म एउटा मात्र अधिवेशन गर्नुपर्छ भन्दै उहाँ भन्नुहुन्छ– ‘यसमा विवादको ठूलो कुरा केही छैन, खालि छिटो अधिवेशन गर्नुपर्छ, आफ्नो भूमिका चाहिन्छ भन्ने मात्र हो ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।