१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?



अ+ अ-

काठमाडौं । भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन्।

भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको हेर्न चाहेको बताएका थिए। आफ्नै कार्यकक्षमा नेपाली सञ्चारकर्मीको एक टोलीसँग कुरा गर्दै उनले नेपाल फेरि हिन्दु राज्य भएमा बहुसंख्यक भारतीयको समर्थन हुने बताएका थिए। नेपाल हिन्दु राज्य र राजतन्त्रात्मक मुलुक हुनुपर्छ भनेर योगीले लामो समयदेखि आफ्ना धारणा राख्दै आएका छन्। उनी विगतमा हिन्दु राज्य र राजतन्त्रको पक्षमा हुने कार्यक्रममा सहभागी हुन पटकपटक नेपाल आएका थिए। उनले मुख्य मन्त्रीका रुपमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नै कार्यकक्षमा भेट गरिसकेका छन्।

यही साउन दोस्रो साता काठमाडौंमा भएको विश्व हिन्दु जागरण सम्मेलनमा सहभागी भएका भाजपाका अर्का प्रभावशाली नेता सुवर्मन्यम स्वामीले पनि नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने धारणा राखेका थिए। नेपालका बहुसंख्यक जनता हिन्दु भएकाले नेपाललाई हिन्दुराज्य घोषणा गर्नुपर्ने उनको तर्क थियो। यत्तिमात्र होइन नेपाललाई हिन्दु राज्य घोषणा गर्ने विषयमा भारतसँगै चीन पनि सकारात्मक रहेको समेत उनले बताएका थिए। प्रधानमन्त्री मोदीका विश्वासपात्र मानिने स्वामीले नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने पक्षमा दिएको अभिव्यक्तिलाई कतिपयले भारतको आधिकारिक धारणाका रुपमा पनि अथ्र्याउने गरेका छन्। स्वामीको अभिव्यक्तिले भारत नेपाललाई हिन्दु राज्य भएको देख्न÷बनाउन चाहन्छ भन्ने संकेत गरेको कतिपयको बुझाइ छ। स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर पनि यस विषयमा छलफल गरेको संकेत सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका छन्।

अघिल्लो साता नेपाल भ्रमणमा आएका भाजपाका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज विजय चौथाइवालेले पनि नेपाल हिन्दु राज्य हुनुपर्ने आसय व्यक्त गरे। उनले सीधै नेपाल हिन्दु राज्य हुनुपर्छ भनेनन्। तर उनले हिन्दु राज्य घोषणा भएमा त्यसलाई स्वागत गर्ने भने बताए। नेपाल–भारत मैत्री समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगर्ने अभिव्यक्ति दिएका उनले हिन्दु राज्यको विषयमा भने स्वागत गरिने बताए। उनले एकातर्फ यस विषयमा भारतको चासो नरहेको बताइरहेका थिए भने अर्कोतर्फ हिन्दु राज्य भएमा स्वागत गर्छौं भनिरहेका थिए।

हिन्दु धर्मका कट्टर अनुयायी मोदीको दोस्रो सत्तारोहणसँगै उनीसँग निकट एवं भाजपाका प्रभावशाली नेताहरुले लगातार नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने आसयका अभिव्यक्ति दिनुलाई कतिपयले भारतको चाहना नेपाल फेरि हिन्दु राज्य हुनुपर्छ भन्ने अर्थमा बुझेका छन्। कतिपयले भने यस्ता अभिव्यक्तिलाई नेपालको आन्तरिक हस्तक्षेपका रुपमा अथ्र्याउने गरेका छन्।

नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने राजनीतिक अजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राज्यका विषयमा भारतीय नेताहरुको अभिव्यक्ति स्वागतयोग्य भएको ठान्छ। ‘नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भनेर भारतीय नेताहरुले जनाएको ऐक्यबद्धता स्वागतयोग्य छ,’ राप्रपा सञ्चार विभाग प्रमुख मोहन श्रेष्ठले भने। उनले हिन्दुराज्यका पक्षमा विश्वका जुनसुकै ठाउँबाट आउने ऐक्यबद्धता स्वागतयोग्य भएको र नेपाललाई हिन्दु राज्य बनाउने÷नबनाउने निर्णय भने नेपाली जनताले गर्नुपर्ने बताए। ‘यो नेपाली जनताले गर्ने निर्णय हो तर सबैतर्फबाट आउने ऐक्यबद्धतालाई हामी स्वागत गर्छौं,’ उनले भने।

सत्तारुढ नेकपाका प्रभावशाली नेता एवं प्रमुख सचेतक देव गुरुङ भारतीय नेताहरुको अभिव्यक्तिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको ठान्छन्। ‘उहाँ (भारतीय नेता) हरुलाई भारतको संविधान र कानुनबारे बोल्ने अधिकार छ तर नेपालबारे बोल्ने अधिकार छैन। उहाँहरुले जे–जस्ता अभिव्यक्ति दिनुभएको छ त्यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको छ,’ गुरुङले भने। गुरुङ आन्तरिक मामिलामा हस्तक्षेप हुने अभिव्यक्ति भारतीय नेताबाट आउँदा राजनीतिक नेतृत्वले प्रतिवाद गर्नुपर्ने बताउँछन्। ‘यस्ता विषयमा राजनीतिक नेतृत्वले बोल्नुपर्छ,’ उनले भने।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल भारतीय नेताहरुले नेपालको आन्तरिक विषयमा टिप्पणी गर्दासमेत सरकारले विरोध नगरेकाप्रति आश्चर्य व्यक्त गर्छन्। ‘भारतीय नेताहरुले नेपालको आन्तरिक विषयमा टिप्पणी गरिरहेका छन् तर सरकार केही बोल्दैन। यसले सरकारले भारतको दलाली गरिरहेको पुष्टि हुन्छ,’ उनले भने। सुवाल यस्ता विषयमा सरकारले तत्काल प्रतिक्रिया जनाउनुपर्ने बताउँछन्। सरकार भारतीय प्रभावमा रहेकाले विरोध गर्न नसकेको उनको भनाइ छ। सुवालले अब जनता नै सचेत भएर खबरदारी गर्नुपर्ने बताएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।