२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द



अ+ अ-

काठमाडौं । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट उद्योग एउटा सामान्य मेसिन बिग्रिँदा ६७ दिनदेखि बन्द छ । आठ सय मेट्रिक टन क्षमताको उद्योग क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) बिग्रेपछि १८ जेठदेखि बन्द भएको हो । बन्द हुनुअघिसम्म दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको थियो ।

मेसिनको मूल्य करिब एक करोड रुपैयाँ पर्छ । तर, एउटै मेसिन २० वर्षदेखि सञ्चालनमा छ । व्यवस्थापनले जगेडा नराख्दा उद्योग नै बन्द गर्नुपरेको स्रोतले बतायो । ‘जुन मेसिन बिग्रिएको हो, त्यो उद्योगमा एउटा मात्रै छ । बिग्रिएपछि फेर्ने भनेर अर्को विकल्पका रूपमा राखिएको पनि छैन,’ स्रोतले भन्यो, ‘यस्तो मेसिन बिग्रन लागेको थाहा हुन्छ । बढी आवाज र भाइब्रेसन आउने, धेरै तात्ने भएर बिग्रन लागेको संकेत दिन्छ । यस्तो अवस्थामा तेल, मोबिल हाल्ने, नट बल्टु कस्ने गरेर मर्मत गर्नुपर्छ र काम चलाउनुपर्छ ।’ तर, जगेडा नराखेको उद्योग व्यवस्थापनले भएको मेसिन पनि सुरुवातमै मर्मत गरेर ठीक पार्नुको सट्टा बिग्रेर काम नलाग्ने हुन्जेलसम्म ध्यान नदिँदा अहिले उद्योग नै बन्द गर्नुपरेको स्रोतको भनाइ छ ।

‘मेसिन बिग्रिएर मर्मत गर्नुपर्‍यो भने उद्योग बन्द हुन्छ भन्ने सबैलाई थाहा थियो,’ स्रोतले भन्यो, ‘उद्योग बन्द राख्नकै लागि मेसिन बिग्रेर काम नगरुन्जेलसम्म मर्मतका लागि ध्यान दिइएन ।’

पाँच सय किलोवाटको सो जापानिज मोटर बनाउन उद्योगले आलटाल गर्‍यो । यस्तो ठूलो मेसिन बुटवलमा रहेको नेपाल इलेक्ट्रिक एन्ड हाइड्रोले मात्र मर्मत गर्छ । तर, उद्योग व्यवस्थापनले छिटो मर्मतका लागि नेपाल हाइड्रोसम्म लैजाने जागर नै चलाएन ।

‘मर्मत गर्ने कम्पनीका मानिसलाई बोलाएर मेसिन पठाइयो, हामीले नै लैजान पहल गरेको भए दुई–चार दिन छिटो हुन्थ्यो भन्ने कुरामा कसैले चासो दिएनन्,’ स्रोतले बतायो । मेसिनको भित्रपट्टि रहेका तारहरू जलेर पूर्ण रूपले नष्ट भएका थिए । त्यसलाई मर्मत गर्न भारतबाट पार्टपुर्जा ल्याउनुपर्ने थियो । उद्योगमा रहेका कर्मचारीसँग भारतीय बजारमा राम्रो पकड भए पनि सामान ल्याउन नेपाल हाइड्रोलाई सघाएनन् ।

नेपाल हाइड्रोले आफ्नै सुरले सामान मगाएर मर्मत गर्दा दुई महिना लाग्यो । २० लाख खर्च गरेर शुक्रबार मात्रै मर्मत सकिएको छ । स्रोतका अनुसार छिटो बनाउन चाहेको भए बढीमा एक महिनामा मेसिन मर्मत भइसक्थ्यो । शुक्रबार बुटवलमा पठाइएको मेसिन सोमबारदेखि उद्योगमा जडान थालिएको छ । बुधबारसम्म सबै परीक्षण सकेर उद्योग पुनः सञ्चालन गर्ने योजना रहेको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।

६७ दिन बन्द हुँदा उद्योगलाई २८ करोड घाटा
वैशाखदेखि असारसम्मको समयलाई सिमेन्ट उद्योगको ‘पिक आवर’ मानिन्छ । यो समयमा विकास निर्माणको काम धेरै हुने भएकाले सिमेन्टको माग उच्च हुन्छ । त्यसैले सबै सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउने र अधिकतम उत्पादन गर्ने ध्याउन्नमा हुन्छन् । तर, सरकार स्वामित्वको उदयपुर सिमेन्टले १८ जेठबाट मेसिन बिग्रेपछि उद्योग नै बन्द गरेर बसेको छ ।

‘पिक आवरमा उद्योग बन्द राख्नु राम्रो भएन,’ स्रोतले भन्यो, ‘उद्योग बन्द रहँदा मागअनुसार सिमेन्ट उपलब्ध गराउन सकिएन ।’ उद्योगसँग सिमेन्ट मौज्दात राख्ने परिपाटी छैन, सबै बजार पठाइन्छ । उद्योग परिसरमा १३ हजार मेट्रिक टन क्षमताको गोदाम छ । तर, सात–आठ हजारभन्दा बढी मौज्दात राख्ने गरिएको छैन ।

उद्योग बन्द भए पनि केही दिन मौज्दातबाटै उपभोक्तालाई सिमेन्ट वितरण गरिएको उद्योगका निमित्त प्रमुख साहले दाबी गरे । ‘सरकारी उद्योग भएकाले सरकारको खरिद प्रक्रिया मान्नुपर्ने हुँदा प्रक्रिया लामो समय लाग्ने गरेकाले समस्या भएको हो,’ उनले भने ।

प्रतिदिन सात सय टन क्षमतामा सञ्चालन भएको उद्योगबाट मासिक तीन लाख बोरा सिमेन्ट उत्पादन हुन्छ । वैशाखयता उद्योगको क्षमता कहिले बढी, कहिले घटी भइरहेको थियो । त्यसैले औसतमा मासिक दुई लाख बोरा उत्पादनमा सञ्चालन भइरहेको उद्योग दुई महिना बन्द हुँदा चार लाख बोरा उत्पादन घटेको छ । उद्योग स्रोतका अनुसार चार लाख बोरा सिमेन्ट बिक्री गर्दा २८ करोड रुपैयाँ आम्दानी हुन्छ । ‘दुई महिना उद्योग बन्द हुँदा २८ करोड गुम्यो,’ स्रोतले भन्यो । गत आर्थिक वर्ष ०७५र७६ मा २४ लाख बोरा सिमेन्ट उत्पादन भएको छ । आर्थिक वर्षको अन्त्यमा उद्योग बन्द हुँदा थोरै मात्र नाफा देखिने स्रोतको भनाइ छ ।

उद्योग नचल्दा दुई महिना चार करोडको भार बढ्यो
दुई महिना उद्योग बन्द हुँदा चार करोड रुपैयाँ भार बढेको छ । स्रोतका अनुसार डेटिकेडेट फिडरमार्फत बिजुली ल्याइएकाले उद्योग बन्द भएको अवस्थामा पनि मासिक ६० लाख रुपैयाँ बिजुलीको बिल भुक्तानी गर्नुपर्छ । तर, उद्योग बन्द भए पनि प्रशासनिक काम भएकाले बिजुली खपत भएको र महिनामा एक करोडको बिजुलीको बिल उठेको स्रोतको भनाइ छ ।

त्यस्तै उद्योगमा पाँच सय आठ स्थायी र एक सय १० ज्यालादारी कर्मचारी छन् । उनीहरूको तलब तथा प्रशासनिक खर्चबापत मासिक एक करोड रुपैयाँ खर्च हुने गरेको छ । ‘उद्योग बन्द गर्दा मासिक दुई करोडको स्थिर खर्चका दरले चार करोडको भार पर्‍यो,’ स्रोतले भन्यो, ‘यो भारलाई उद्योग सञ्चालन भएका वेलाको कमाइले मिलाउनुपर्दा वार्षिक नाफादर खुम्चने प्रस्ट छ ।’

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा १० करोड ४१ लाख रुपैयाँ नाफा आर्जन भएको थियो । त्यसैले गत वर्ष यसभन्दा बढी नाफा आर्जन गर्ने योजना बुने पनि उद्योग सफल नहुने देखिएको छ । ‘एकातिर २४ करोडको सिमेन्ट बिक्री गर्न सकिएन, अर्कातिर चार करोडको बिजुली र कर्मचारीलाई तलब, सुविधा दिने भारत थपिँदा लक्षित दरमा नाफा नहुने निश्चित छ ।’

पूर्वप्रमुखले अतिरिक्त मेसिन किन्न खोज्दा कर्मचारीले दिएनन्, अहिले उद्योग बन्द भयो
उद्योग पुरानो भएकाले सामानहरू बिग्रँदै जान थालेको निमिक्त प्रमुख शाहको दाबी छ । ‘उद्योग २५ वर्ष पुरानो भइसक्यो, त्यसैले मेसिन पनि सबै पुराना भएकाले बिग्रनु स्वाभाविक हो,’ उनले भने, ‘हामीसँग अतिरिक्त मेसिन नभएकाले मर्मत गर्दा उद्योग बन्द गर्नुपरेको हो ।’

तर, यसअघिका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले मर्मतका समयमा उद्योग बन्द नहुने स्थिति बनाउन तीनवटा ठूला मेसिन खरिद गरेर राख्ने योजना बनाएका थिए । स्रोतका अनुसार पौडेलले ७०–८० लाख रुपैयाँ दरका तीन मेसिन किन्न खोज्दा कर्मचारी युनियनदेखि उच्च व्यवस्थापनमा रहेका कर्मचारीले विरोध गरेका थिए ।

‘यति धेरै पैसाको मेसिन किनेर किन राख्नुपर्‍यो ? बिग्रिएको मेसिन मर्मतका लागि पठाउन्जेल उद्योग बन्द गर्दा केही फरक पर्दैन भन्दै सबै कर्मचारीले तत्कालीन महाप्रबन्धकको योजना कार्यान्वयन गर्न दिएनन्,’ स्रोतले भन्यो, ‘त्यतिवेला स्पेयर मेसिन किनेर राखेको भए अहिले प्रयोगमा ल्याउन सकिन्थ्यो र उद्योग बन्द हुने अवस्था आउने थिएन ।’

६ महिनादेखि प्रमुख नियुक्ति नहुँदो अन्योल
उदयपुर समेन्ट उद्योगको महाप्रबन्धक छनोटका लागि ६ महिनाअघिबाट खुला प्रतिस्पर्धा छनोटको प्रक्रिया थालिएको छ । सबै प्रक्रिया सकेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ वैशाख ०७६ मा मन्त्रिपरिषद्समक्ष रामुद्दिन यादव, तारा पौडेल र रामबाबु साहको नाम सिफारिस गरेको थियो । तर, अहिलेसम्म मन्त्रिपरिषद्ले एकजनाको नाम स्वीकृत गर्न सकेको छैन । मन्त्रिपरिषद्मा नयाँ महाप्रबन्धक नियुक्तिका लागि प्रस्ताव गएपछि उद्योगका कर्मचारीले नयाँ हाकिम आएर उद्योग सञ्चालन गर्ने भन्दै दैनिक काम–कारबाहीलाई बेवास्ता गरिरहेका छन् ।

‘वैशाखको सुरुमै नयाँ हाकिम नियुक्तिको प्रक्रिया मन्त्रालयले अघि बढायो,’ स्रोतले भन्यो, ‘त्यसपछि उदयपुरका कर्मचारीले आजभोलि नै नयाँ हाकिम आउने होलान् भन्दै काममा जाँगर देखाएनन् । बिग्रन लागेको मेसिन पनि मर्मतमा ध्यान दिएनन् । नयाँ हाकिमले मेसिन मर्मतका लागि अग्रसरता देखाउलान् भन्ने आस गर्दा गर्दा मेसिन काम नै गर्न नसक्ने गरी जल्यो । त्यसपछि पनि मेसिन मर्मत गर्न कर्मचारी नयाँ हाकिम नै कुरेर बसे । मन्त्रिपरिषद्बाट नियुक्ति हुन ढिला हुने भएपछि मात्रै मर्मत थाले ।’

बिग्रिएको मेसिन मर्मत गरेर अहिले उद्योगमा जडान भइसकेको छ । तर, नयाँ महाप्रबन्धक नियुक्ति हुन सकेको छैन । ‘दुई महिनासम्म उद्योग बन्द अवस्थामा रहनुमा नयाँ महाप्रबन्धकको नियुक्ति लम्बिनुलाई एउटा कारण मान्न सकिन्छ,’ स्रोतले भन्यो ।

भोल्टेज गडबढीले मेसिन बिग्रियो

नवलकिशोर साह
निमित्त महाप्रबन्धक, उदयपुर सिमेन्ट उद्योग लिमिटेड

सिमेन्ट उत्पादन गर्ने प्रमुखमध्येको एउटा मेसिन भोल्टेजमा आएको गडबडीले बिग्रेपछि मर्मतका लागि पठाइएको थियो । अतिरिक्त मेसिन नभएकाले उद्योग बन्न गर्नुपर्‍यो । जापानिज मेसिन भएकाले बिग्रिएपछि जहाँतहीँ बनाउन सम्भव छैन ।

नेपालको एक ठाउँमा मात्र हाम्रो मेसिन बन्छ, बुटवलको नेपाल हाइड्रोमा । त्यहाँ मेसिन दिँदा नै मर्मतका लागि दुई महिना लाग्छ भन्ने थियो । त्यति नै समय लाग्यो । त्यसैले उद्योग बन्द भयो । भारत लगेर मर्मत गराउने प्रक्रिया झन् लामो छ ।

जापानिज मेसिनलाई भारत लगेर बनाउन झन्झट पनि रहेछ । दुई महिना बन्द हुँदा सिमेन्ट उत्पादन धेरै हुन नसकेर क्षति भयो । तर, कच्चा पदार्थ खपत नभएकाले हाम्रो लगानी पनि हुन नपाएर बच्यो नि !

बजार क्रमशः खुम्चँदै, देशभर ११ सय डिलर थिए, अब एक सय ६० मात्र
२५ वर्षदेखि त्रियुगा नगरपालिका–११ जलजलेमा अवस्थित उद्योगको सुरुवाती समयमा देशभर एक हजार एक सय डिलर थिए । अहिले घटेर एक सय ६० डिलर मात्र छन् । यी डिलरले समेत सिमेन्ट बिक्री गर्न आनाकानी गर्दै आएका छन् । उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट बिक्री गर्ने डिलरलाई प्रतिबोरा १०–१५ रुपैयाँ मात्र कमिसन दिइरहेको छ । तर, निजी क्षेत्रका उद्योगले डिलरलाई सय रुपैयाँसम्म कमिसन दिइरहेका छन् । सिमेन्ट खोज्दै आउने ग्राहकलार्ई डिलरले बढी कमिसन पाउने निजी उद्योगकै सिमेन्ट प्रस्ताव गर्छन् । अर्कातिर निजी क्षेत्रको तुलनामा उदयपुरको गैँडाछाप सिमेन्ट प्रतिबोरा ५० रुपैयाँ महँगो पनि छ ।

उद्योगले ५३ ग्रेडको ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । निजी क्षेत्रको भन्दा उच्च गुणस्तर र लागत पनि महँगो पर्ने भएकाले बजार मूल्य बढी भएको उद्योगको तर्क छ ।

जापानले बनाइदिएको उद्योग चार अर्ब सञ्चित नोक्सानीमा, स्थापनादेखि २१ वर्ष नोक्सानमा
जापानले २५ वर्षअगाडि स्थापना गरिदिएको उदयपुर सिमेन्ट उद्योगको सञ्चित नोक्सान चार अर्ब २४ करोड ३२ लाख पुगेको छ । स्थापनादेखि निरन्तर नोक्सानीमा गइरहेको थियो । उद्योग स्थापना गर्न जापानले ६ अर्ब ऋण सहयोग गरेको थियो । पछि सरकारको आग्रहमा अुनदानमा परिणत भएको छ । तर, सरकारले भने उद्योगलाई ऋण लगानी भएको र सिमेन्ट बिक्री गरेर सो ऋण तिर्न निर्देशन दिएको छ । त्यसयता उद्योगले दुई अर्ब २१ करोड ऋण भुक्तानी गरेको छ ।

सरकारले पूर्ण स्वामित्व लिएर ०५१/५२ देखि सञ्चालन थालेको २१ वर्षसम्म निरन्तर नोक्सान बेहोर्‍यो । उद्योग सञ्चालन गरेको पहिलो वर्ष आव ०५०र५१ मा दुई करोड ३७ लाख ६५ हजार रुपैयाँ नोक्सानमा गएको थियो । सरकारले सञ्चालन थालेको पहिलो वर्ष आव ०५१/५२ मा एक करोड १० लाख ३० हजार रुपैयाँ नोक्सान भएको थियो ।

उद्योगमन्त्री महेश बस्नेतले सुनसरीका सुरेन्द्रकुमार पौडेललाई उदयपुर सिमेन्टको महाप्रबन्धकमा १२ फागुन ०७१ मा नियुक्त दिएपछि उद्योगले नयाँ जीवन पायो । आव ०७१/७२ मा उद्योगले ३८ करोड ४१ लाख नोक्सान बेहोर्‍यो । त्यसपछि आव ०७२/७३ मा उद्योगको नोक्सानी २७ करोड ४० लाख रुपैयाँमा झर्‍यो । उनले नयाँ गियर मेसिन ल्याएर उत्पादन थालेपछि आव ०७३/७४ मा उद्योग पहिलोपटक नाफामा गयो । सो वर्ष एक अर्ब ४१ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेर एक करोड ३२ लाख नाफा आर्जन भएको थियो ।

आव ०७४/७५ मा भने १० करोड ४१ लाख नाफा आर्जन गर्न सफल भएको थियो । उद्योग सफलतातर्फ जाँदै गर्दा पौडेलको कार्यकाल सकिन लागेको थियो । यहीबीचमा उनी उदयपुरको जागिर छाडेर २३ पुस ०७५ देखि आयल निगमको प्रबन्ध निर्देशक भई काम गरिरहेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै