३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

बालुवाटार जग्गा प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस

बालुवाटार जग्गा प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस
अ+ अ-

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरूसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालीन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् ।

‘हामीलाई प्राप्त सूचनाअनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरूका आफन्त र नातेदारका नाममा सित्तैमा दिइएको थियो,’ भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसित भने, ‘हालैको बकसपत्रका नाममा भएको कारोबार हेर्दा २० रोपनीभन्दा बढी जग्गा त्यसरी कारोबार भएको भेटिन्छ । अरूका हकमा पनि खोजिरहेका छौं ।’ उपहार पाउनेहरू ८–१० जना भेटिएका छन् भने अरूको खोजी भइरहेको छ ।

सरकारले पञ्चायतकालमा अधिग्रहण गरेर लिएको जग्गालाई ‘जफत’ गरेको भन्ने अर्थ लगाई डिल्लीबजार मालपोत कार्यालयबाट २०४९ सालमा दुई चरणमा १ सय १२ रोपनी ४ आना जग्गा राणा परिवारको नाममा फिर्ता भएको थियो । फिर्ताका क्रम सुरु हुनासाथ त्योमध्येको केही जग्गा ‘बकसपत्र’ गरी आफन्तको नाममा समेत नामसारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतबाट कान्तिपुरलाई प्राप्तकागजातमा देखिन्छ ।

कांग्रेसका संस्थापक नेता सुवर्णशमशेरका तीन छोरा थिए । सुवर्णको जेठो छोरा कनकशमशेर हुन् भने कनककी पत्नी सुनिती राणा हुन् । सुवर्णका माइला छोरारबुहारी कञ्चन र शैलजा हुन् । यिनका छोराहरू हाटक र हेमनशमशेर हुन् । रुक्मशमशेर सुवर्णका कान्छा छोरा हुन् । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुँदा राणा परिवारका यी नाम जोडिएका छन् । बकसपत्रको नाममा शंकास्पद कारोबारसमेत यिनकै नामबाट भएको छ ।

प्राप्त कागजातअनुसार २०४९ कात्तिक २५ मा मिसिल नम्बर १०२४ बाट सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेपछि एक साताभित्रै तीनपटक व्यक्तिका नाममा बकसपत्र गरी हस्तान्तरण भएको छ । जसअनुसार, मंसिर १ गते २७ र २८ नम्बरको कित्ताबाट एक रोपनी १० आना र दुई रोपनी आठ आना जग्गा बकसपत्रमार्फत बाँडिएको छ ।

शैलजा, हाटक र हेमनशमशेर राणाले आफ्नो नामको ५६ आना जग्गा गोठाटार–६ ठेगाना भएकी मिठुदेवी पसाई र नवलपरासी तमहरिया–८ ठेगाना भएका इन्द्रबहादुर थापाको नाममा बकसपत्र गरेका छन् । यी दुईको नाममा आएको जग्गा पछि चैत २३ गते सगोलनामा भई सरस्वतीकुमारी श्रेष्ठ र शान्ति मल्ल प्रधानांगको नाम थपिएको देखिन्छ ।

सोही दिन अर्को शंकास्पद हस्तान्तरण पनि भएको छ । ११ आना र ५३ आना गरी कुल ६४ आनाको दुई कित्ता जग्गा तीनैजना राणा परिवारले भुवनकुमारी चापागाईं अनि उर्मिला शाहका नाममा ‘बकसपत्र’ गरिदिएका थिए । चापागाईं गृह मन्त्रालयका अवकाश प्राप्त सहसचिव गेहनाथ भण्डारीकी पत्नी हुन् भने शाह पूर्वसहसचिव एवं निर्वाचन आयोगका निवर्तमान आयुक्त सुधीरकुमार शाहकी पत्नी हुन् । ‘सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न यी दुई पात्रको महत्त्वपूर्ण एवं निर्णायक भूमिका देखिन्छ,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले कान्तिपुरसित भने, ‘यो जग्गा सोझै घूस हो, नत्र चिन्नु न जान्नुको मान्छेलाई कसैले बालुवाटारको जग्गा बकसपत्र गरेर दिन्छ ?’

त्यही दिन सित्तैमा अर्को कारोबारसमेत भएको छ । कित्ता नम्बर १८ को ३० आना (१ रोपनी १४ आना) जग्गा शैलजा, हाटक र हेमनबाट दुई व्यक्तिका नाममा बकसस्वरूप गएको छ । जग्गा पाउनेहरू ताप्लेजुङ २ का खिमादेवी आङबुहाङ अनि तेह्रथुमका मोहनप्रसाद भट्टराई हुन् । ‘भट्टराईचाहिँ तत्कालीन सचिव शरद भट्टराईका नजिकका व्यक्ति भएको खुलेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘खिमादेवीका बारेमा सोधखोज हुँदै छ ।’

सुरुमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिसकेपछि राणा परिवारले आफूले पाएको मध्ये केही हिस्सा विभिन्न व्यक्तिका नाममा बकसपत्र गरिदिए । विभिन्न उच्च पदस्थ अधिकारीका आफन्तका नाममा जग्गा पास भएपछि दोस्रो चरणमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने योजना बन्यो । जसअनुसार २०४९ पुस २३ गते १०२५ नम्बरको मिसिल खडा गरी बाँकी जग्गासमेत राणा परिवारका नाममा दर्ता गरियो । अनि पाँच महिनापछि फेरि पाँचपटक बकसपत्र गरी विभिन्न व्यक्तिलाई बकसका नाममा बाँडेको देखिन्छ ।

‘२३ ह’ अन्तर्गतको १९ नम्बरको कित्ताबाट १० आना जग्गा शैलजा, हाटक र हेमनले उर्मिला शाह र सोदाकुमारी चापागाईंको नाममा गरे । त्यतिबेला भक्तपुरको मालपोत कार्यालयका प्रमुख रहेका सुधीरकुमार शाहकी पत्नीका नाममा दोस्रोपटक जग्गा उपहारका रूपमा गयो भने गृहका अधिकारी गेहनाथ भण्डारीले यसपटक पत्नीका नाममा नभई सासू सोदाकुमारी चापागाईंका नाममा राखिदिए ।

अर्को ३६ नम्बरको कित्ताबाट एक रोपनी जग्गा तीन राणा परिवारबाट उर्मिला शाह र भुवनकुमारी चापागाईंका नाममा गयो । अख्तियार स्रोतले भन्यो, ‘सबै कोणबाट विश्लेषण गर्दा सुधीर शाह र गेहनाथ भण्डारी बालुवाटारको जग्गा हत्याउने प्रमुख योजनाकार भएको खुल्छ ।’

त्यही दिन तेस्रो पटकसमेत जग्गाको बकस कारोबार भयो । २० र २६ नम्बरको कित्ताबाट २९ आना जग्गा निर्मलादेवी श्रेष्ठका नाममा गयो । नगर–३२ उल्लेख गरेकी निर्मला को हुन् ? हालसम्म खुलेको छैन । त्यही दिन १४ आना जग्गा कपन–७ ठेगाना उल्लेख भएकी विद्या पौडेल गौतमका नाममा गयो । अनि १९ आना जग्गा पनि तीन राणा परिवारबाट छवाकु–७ तेह्रथुम ठेगाना उल्लेख गरेका मोहनकुमार भट्टराई र शशिकला सुब्बाका नाममा बकसपत्र भयो । कुनै व्यक्तिले आफ्नो सम्पत्ति हकवालाबाहेकलाई सित्तैमा दिनु बकस हो ।

मालपोत कार्यालयमा ‘हालैको बकसपत्र’ लेखिदिएपछि जग्गाधनीको स्वामित्व तत्काल बकस पाउनेको नाममा सर्छ ।
जग्गाको अन्य कारोबार पनि शंकास्पद छ । उदाहरणका लागि, माधवी सुवेदीले २०६० वैशाख ८ गते एक रोपनी उपहार पाएकी छन् । २०६१ वैशाख ४ गते डिल्लीबजार मालपोत कार्यालयको कारोबार हेर्ने हो भने राणा परिवारले मन फुकाएर सम्पत्ति बाँडेको भेटिन्छ । ५ टुक्रा जग्गा बकसपत्रमध्ये एउटा टुक्रा पाँच रोपनी दुई आनाको छ भने अरू स–साना छन् ।

सुनिती, शैलजा र रुक्मशमशेरबाट विनिता अधिकारी, सरला गुरुङ अनि सुधीर भट्टराईले यो जग्गा पाएका हुन् । त्यही दिन १२ आना जग्गा यी तीनजनाले उमाकुमारी ढकाल्नीलाई दिएका छन् । सबै कारोबारको हिसाब गर्दा ३४८ आना (२१ रोपनी १२ आना) जग्गा बाँडिएको खुल्छ । त्यसको चार दिनपछि वैशाख ८ गते १८ कित्ता जग्गा राणा परिवारबाट भाटभटेनीका सञ्चालक मीनबहादुरले लिएका छन् । सरकारका नाममा हुनुपर्ने केही जग्गा ६२ जेठ ३ मा सुनितीले पाएकी थिइन् । पछिल्लो कारोबारमा भने किनबेच भएको भनी ‘राजीनामा’ लेखिएको छ । यो बेलामा बिक्री भएको र बाँडिएको जग्गा रुक्मशमशेरको हकको मात्रै हो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।