• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बजारको फन्दामा हरियो चुरा



साउनमा व्रत बसेर पतिको आयु बढ्ने भए नेपालमा कोही पनि हिन्दू महिला विधवा (एकल) हुने थिएनन्

केही वर्षदेखि मेरा साथी र छिमेकीलाई भन्दै आएकी छु, ‘तिज र साउनमा मेरा लागि हरियो पोते र रातो चुरा नकिन्नू ।

बरु मलाई पैसा नै दिनु । त्यो पैसा जम्मा गरेर गाउँका विद्यार्थीलाई कापीकलम किन्नेछु ।’ 

साउनमा हरियो चुरा लगाउने र तिजमा छमछम नाच्ने संस्कृतिको विरोध गर्ने अधिकार मसँग छैन, तर जब त्यो धार्मिक मान्यतासँग जोडिन्छ, श्रीमान्लाई माया देखाउने प्रचलनसँग जोडिन्छ, हरियो चुरा र हरियो लुगा लगाएर सोमबारको व्रत बस्दा श्रीमान्को आयु बढ्छ भन्ने अन्धविश्वाससँग जोडिन्छ अनि म त्यसको विरोध गर्न थाल्छु । किनभने, त्यसवेला महिलाहरू ‘इमोसनल ब्ल्याकमेल’को फन्दामा पर्छन् । नेपालका विभिन्न संस्कृतिलाई यसरी व्यापारीकरण गर्ने चलन थालिएको छ । यस्तो लाग्छ, हामीलाई हाम्रो संस्कृतिले होइन, बजारले ‘चलायमान’ गरिरहेको छ । 

आजभन्दा ३० वर्ष अघिसम्म महिलाहरू चुपचाप व्रत बस्थे, पूजा गर्थे, श्रीमान्को आयु बढ्छ भन्ने ठान्थे । त्यो घरभित्रका कुरा हुन्थे । तर, अहिले सम्पूर्ण समाजमा यो व्यापक भएको छ । हरियो चुरा, साउन महिना र पति प्रेम छुट्याउनै नमिल्ने गरी जोडिन पुगेको छ । चुराको व्यापारले महिलालाई झनै सजावटका लागि तयार गर्छ । म प्रायः चुरा नै लगाउँदिनँ, त्यसमाथि विशेष चाडपर्व र विवाहित महिलाका लागि भनेर विज्ञापन गरिएको चुरा र लुगा त झनै लगाउँदिनँ । बजारले उपलब्ध गराएको सामग्री प्रयोग नगर्दा सोमबार व्रत बस्ने महिलाहरूभन्दा के मैले पति र सन्तानलाई कम माया गरेको ठहर्छ ? ती तामझाम नमान्दा पतिको दीर्घायु र सुस्वास्थ्य चाहन्नँ भन्ने इंगित गर्छ र ? यस्तो हुनै सक्दैन । 

कुनै पनि विषयको बजार बनाउनेहरू बडो मनोवैज्ञानिक हुन्छन् । मान्छेको मनमा के कुराले पिरोल्छ भनेर उनीहरूले अनेक अनुसन्धान गरेका हुन्छन् । महिलालाई पतिको प्रेम र स्वास्थ्यको नाममा ‘जे पनि बिकाउन’ सजिलो हुन्छ भन्ने उनीहरूलाई थाहा छ । त्यसैले साउन महिनामा चुराको संस्कृतिलाई व्यापार बनाउन उनीहरूलाई सजिलो भएको छ । साउन महिनामा कुनै पुरुषले हरियो कमिज र हरियो टोपी लगाएर हिँड्यो भने श्रीमती र छोरीको आयु बढ्छ भनेर किन कुनै धर्मग्रन्थमा नलेखेको होला ? किन कुनै धर्मगुरुले नभनेको होला ? आखिर परिवारमा त लोग्ने मात्रै धेरै आयु बाँचेर त भएन, स्वास्नी पनि त बाँँच्नुपर्‍यो ! दाम्पत्य जीवन सुखी बनाउन लोग्नेको कुनै दायित्व नै नहुने हो कि ? सबैको आयु बढाउने जिम्मा स्वास्नीको मात्रै किन होला ? यस्तो प्रश्नको जवाफ महिलाहरूले खोजी गर्न थाल्नुपर्छ । 

साउनमा कुनै पुरुषले हरियो कमिज र हरियो टोपी लगाएर हिँड्यो भने श्रीमती र छोरीको आयु बढ्छ भनेर किन कुनै धर्मग्रन्थमा नलेखेको ?

बजारमा हरियो सारी, कुर्था र चुरा किन्नेहरूसँग पहिले नै दराजमा थरीथरीका लुगा हुन्छन् । तर, बजारले महिलाको मनमा के घुसाइदिएको छ भने हामीले नयाँ लुगा नकिने, हरियो चुरा नलगाए पतिको आयु बढ्दैन । ‘म पतिलाई माया गर्छु भन्ने कुरा संसारलाई किन देखाउनुपर्‍यो ? यस्तो प्रश्न महिलाहरू किन गर्दैनन् ? हरियो, रातो, निलो जुन चुरा पनि महिलाले लगाए हुन्छ । तर, जब बजारले त्यो लगाउनैपर्छ भन्ने बाध्यता गर्छ अनि महिलाहरूले ‘हामी त्यसो गर्दैनौँ’ भन्न किन नसकेका होलान् ? बरु प्रेमको प्रतीकस्वरूप श्रीमान्श्रीमतीले दुईवटा रूख रोपेर साउन महिना मनाउन किन नसकेको होला ? 

मेरी आमा, ८२ वर्षकी भइन् । १० वर्षको उमेरमा विवाह गरेर आएकी ४६ वर्षसम्म उनी तिजको निर्जल व्रत बसेर, नवरात्रीमा एक छाक रोटी खाएर पतिको आयु बढाउन खोजेकी थिइन्, तर आमा ४६ को हुँदा ५२ वर्षको उमेरमै पति (मेरो पिता) गुमाइन् । तर, अझै पनि उनी तिजमा व्रत बस्छिन् । उनी ‘अर्काे जन्मका लागि’ व्रत बस्छिन् । धार्मिक गुरुहरूले यो विचार भरिदिएका छन् । यो विचारबाट आमा पुस्ता निस्कन गाह्रो छ । तर, जब महिला हितका लागि बोल्ने महिलाले नै पतिको माया नै हरियो चुरा र तिजको व्रत बसेर सम्भव हुन्छ भन्ने विचार गर्छन्, अनि म आश्चर्यमा पर्छु । के बजार र धर्मले गरेको ‘इमोसनल ब्ल्याकमेल’ होइन र यो ? 

म कहिल्यै तिजको दिन व्रत बसिनँ । व्रत बस्नुभन्दा पति र सन्तानको राम्रो स्वास्थ्यका लागि म स्वस्थ खाना र योगासनमा जोड दिन्छु । श्रीमान्लाई ‘म तिमीलाई प्रेम गर्छु, तिम्रो लागि मैले कति बलिदान गरेँ’ भन्दिनँ । उनी पनि भन्दैनन् । हामी दुई जीवनको अन्तिमसम्म एक–अर्काका दुःख–सुखका साथी हौँ भन्नेमा कुनै सन्देह छैन । 

बजार बनाउने मानिसहरूलाई थाहा छ– प्रेमको नाममा पुरुषहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न सकिन्नँ । तर, महिलाको मनमा भने डर पैदा गर्न सकिन्छ । महिलाले बजारको त्यो जाल बुझ्नुपर्छ । कमजोर मनोदशालाई पक्रेर व्यापारीहरूले पैसा कमाइरहेको षड्यन्त्र महिलाहरूले बुझ्नुपर्छ । हामी बजारको मोहरा भइरहेका छौँ । आफूले सिकेको त्यही ज्ञान छोरीलाई पनि सिकाइरहेका छौँ । 

कतिपय महिला ठान्छन्– पति आफ्नो स्वास्थ्यको आफैँ रक्षा गर्न सक्दैनन् । उनीहरूको शारीरिक, मानसिक सबै पक्षको रक्षा गर्ने जिम्मेवारी पत्नीको हो । आफ्नो दीघार्युको लागि व्रत बस्ने श्रीमतीका बारेमा श्रीमान्चाहिँ के सोच्छन् त ? केही पुरुष साथीहरूलाई सोधेँ । उनीहरूले भने, ‘आयु बढ्ने कुरामा विश्वास छैन । तर, व्रत बस्नु उनीहरूको अधिकार हो । मन लागेको गर्छन् ।’ अर्का साथीले भने, ‘लुगा किन्न किचकिच गर्छन् । व्रत बसिन्जेलचाहिँ किचकिच अलि कम हुन्छ ।’ अर्थात्, पुरुषप्रतिको माया दर्साउने महिलालाई पुरुषले किचकिच ठान्छ । हरियो सारी र चुरा लगाएर आफ्नो वरिपरि घुमिरहने मान्छे भन्ठान्छ । 

त्यसैले हामीले बुझ्नुपर्छ– साउनमा व्रत बसेर पतिको आयु बढ्ने भए नेपालमा कोही पनि हिन्दू महिला विधवा (एकल) हुने थिएनन् । (नयाँ पत्रिका दैनिकबाट साभार)