१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
अ अ+ अ-

भोजपुर। भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण नगरिँदा स्थानीय नागरिक अनावश्यक आर्थिक तथा कानुनी मारमा परेका छन् ।

सडकले ओगटेको निजी जग्गाको लगत कट्टा नहुँदा नागरिकले प्रयोग गर्न नपाउने जग्गाकोसमेत निरन्तर राजस्व तिर्नुपर्ने बाध्यता रहेको छ । विकासका नाममा प्रयोग भइसकेको जग्गाको कानुनी हैसियत नटुङ्गिँदा स्थानीय बासिन्दा पीडित बनेका हुन् ।

सडक बनेपछि जग्गा राज्यको स्वामित्वमा जानुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन कमजोर हुँदा नागरिकले वर्षौँदेखि प्रयोग गर्न नपाउने जग्गाकोसमेत कर तिर्नु परिरहेको छ । भोजपुर नगरपालिका–६ देउरालीका कमल तामाङका अनुसार आफ्नै जग्गामा सडक विस्तार भए पनि वर्षौँदेखि सो जग्गाको कर तिर्नु परेको छ ।

आफ्नो दुई हलको मेलो भएको जग्गा सडकमा परेको भए पनि हालसम्म कर तिर्दै आएको तामाङले जानकारी दिनुभयो । निजी जग्गामा विस्तार गरिएका साना–ठूला सडकको सरकारीकरण प्रक्रिया समयमै अघि नबढ्दा धनीपुर्जा, नापी र मालपोत कार्यालयका अभिलेख नमिल्दा समस्या थप जटिल बनेको उहाँको भनाइ छ ।

“सडकले ओगटेको क्षेत्र राज्यको स्वामित्वमा नलगिँदा हामीले प्रयोग गर्न नपाउने जग्गाको पनि कर तिर्नुपरेको छ,” उहाँले भन्नुभयो, “धनीपुर्जामा नाम आफ्नो छ, तर जग्गामा सडक बनेको छ । सरकारी श्रेस्ता नमिल्दा नागरिक नै पीडित बनेका छन् ।” यस्तै, षडानन्द नगरपालिका–११ का देवीराम चौलागाइँले तुर्के–फाली दोवाटो सडक विस्तारका क्रममा आफ्नो करिब एक सय मिटरभन्दा बढी लम्बाइको जग्गा सडकमा परे पनि हालसम्म लगत कट्टा नभएको बताउनुभयो ।

“सडकमा परेको जग्गाको कर अझै तिर्नुपरेको छ,” उहाँले भन्नुभयो, “धेरै नागरिकको अवस्था यही छ । कतिपयले त एउटै व्यक्तिको धेरै ठाउँमा सडकमा परेको जग्गाको कर तिर्नुपरेको छ ।”स्थानीयका अनुसार लगत कट्टा नहुँदा आर्थिक भार मात्र होइन, जग्गा किनबेच, नामसारी, धितो राखेर बैंकबाट ऋण लिने जस्ता कानुनी तथा आर्थिक कारोबारमासमेत समस्या सिर्जना भएको छ । कतिपय नागरिकले कर नतिरेको भन्दै जरिवाना र ब्याज तिर्नु परेको गुनासो गरेका छन् ।

नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीले हालसम्म भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गको मात्रै लगत कट्टा सम्पन्न भएको जानकारी दिनुभयो ।

हाल निर्माण भइरहेको दिङ्ला–भोजपुर सडकको लगत कट्टाको प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । “भोजपुर–दिङ्ला सडकको लगत कट्टाको प्रक्रिया अगाडि बढिरहेको छ,”उहाँले भन्नुभयो,“अन्य सडकको हकमा भने स्थानीय तह, नापी र मालपोत कार्यालयबीच समन्वय गरेर काम गर्नुपर्ने अवस्था छ ।”

यसैबीच, पौवादुङमा गाउँपालिकाले सडक क्षेत्रमा परेको जग्गाको लगत कट्टा प्रक्रिया सुरु गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार तिवारी भञ्ज्याङदेखि मानेडाँडासम्मको मुख्य सडक खण्डको लगत कट्टा सम्पन्न भइसकेको छ ।“अन्य सडक क्षेत्रमा विस्तार गरिएका सडकको सर्वे सम्पन्न भइसकेको छ,”उहाँले भन्नुभयो, “अब क्रमशः लगत कट्टाको प्रक्रिया अघि बढाइनेछ ।

हामी लगत कट्टाको कामलाई चाँडो सम्पन्न गराउने लक्ष्यसहित अघि बढेका छौँ ।” स्थानीय बासिन्दाले भने सडक विस्तारसँगै अनिवार्य रूपमा जग्गा सरकारीकरण, लगत कट्टा र कर समायोजनको काम समयमै गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अन्यथा विकासको नाममा नागरिकले दोहोरो आर्थिक भार र कानुनी झन्झट व्यहोर्नुपर्ने अवस्था अझै लम्बिने उनीहरूको चिन्ता छ ।

लगत कट्टा नहुँदा नागरिकले अनावश्यक कर तिर्नुपरेको मात्र होइन, जग्गा नामसारी, जग्गा बिक्री–वितरण जस्ता कानुनी प्रक्रिया पनि प्रभावित भएका छन् । पीडितहरुले पूर्व तयारीबिना सडक बनाउँदा समस्या नागरिकमाथि परेको बताएका छन् ।

सडक बनेको दशकौँ वितिसक्दा पनि जग्गाको कानुनी हैसियत टु्ङ्गो नलाग्नु सरकारी निकायको गम्भीर लापरबाही रहेको नागरिकको भनाइ छ । जिल्लामा विस्तार भएका सडकको तथ्याङ्क लिएर चाँडो लगत कट्टा गर्नुपर्ने स्थानीयवासीको माग छ । रासस