१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न

टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
अ अ+ अ-

काठमाडौँ। गोल्डेन ट्रयाङ्गल इन्टरनेश्नल बाइक टूर कार्यक्रमको दोस्रो संस्करण पोखरामा सम्पन्न भएको छ ।

गएको शुक्रबार काठमाडौँदेखि सुरु भएको बाइक टूर कार्यक्रम कुलेखानी, हेटौँडा, सौराहा, मेघौली, भरतपुर, मुग्लिन हुँदै पोखरा पुगेर सम्पन्न भएको हो ।

एनटीपी मल्टिमिडिया ग्रुप र एक्सपल्स राइडर्स नेपाल, क्लबको आयोजनामा सञ्चालन भएको टूर कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो ।

चितवनमा मेघौलीस्थित कुमाल सामुदायिक होमस्टे र पोखरामा पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान)ले टूर कार्यक्रमलाई प्रत्यक्ष रुपमा सहयोग तथा व्यवस्थापन गरेका थिए । टूरले ‘नेपाल टूरिजम फेस्टिभल’ र ‘भिजिट पोखरा २०२५’ कार्यक्रम पनि प्रवर्द्धन गरेको छ ।

क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले नेतृत्व गरेको टूरका राइडर पहिलो दिन काठमाडौँबाट चितवन मेघौलीको गोलाघाटस्थित कुमाल सामुदायिक होमस्टेमा पुगे । जहाँ होमस्टेका अध्यक्ष तारा मास्के नेतृत्वको समिति र स्थानीयले फूलका माला लगाएर परम्परागत नृत्यसहित टूरका राइडरलाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै होमस्टेका अध्यक्ष तारा मास्केले चितवनको ड्रिम डेस्टिनेसनका रुपमा रहेको मेघौली र गोलाघाटलाई प्रवरद्र्धन गर्न आएका राइडरलाई स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे । ‘हामी गोलाघाट र कुमाल सामुदायिक होमस्टे प्रवर्द्धन गर्न बसिरहेका छौँ । तपाईहरुको आगमनले हाम्रो खुशी बढेको छ । अझ धेरै पर्यटक आउने आशा जागेको छ ।’

कुमाल सामुदायिक होमस्टे सञ्चालक र स्थानीयको स्वागत तथा सम्मानपछि टूरका राइडरले शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी गरेका थिए । मेघौलीबाट पनि सञ्चालित भएको जंगल सफारी पछिल्लो समय लोकप्रिय बनेको छ ।

जंगल सफारीका क्रममा राइडरहरुले गैँडा, हात्ती, मृग, मयुर लगायतका वन्यजन्तु तथा पशुपंक्षीको अवलोकन गरेका थिए । निशुल्क बासस्थानको व्यवस्थापन गरेका राइडरलाई कुमाल सामुदायिक होमस्टेले जंगल सफारी र स्थानीय संग्राहालयको अवलोकन गर्न सहजीकरण गरेका थिए ।

जंगल सफारीबाट आएका राइडरलाई होमस्टेका पदाधिकारी तथा स्थानीयले बिदाई गरेपछि राइडरको टिम सौराहा, भरतपुर, मुग्लिन हुँदै पोखरातर्फ लागेको थियो । पृथ्वी राजमार्गको नयाँ सडकमा बाइक गुडाउँदै पोखरा पुगेको टिमलाई पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)ले भव्य स्वागत गरेको थियो ।

पोखराको होटल क्राउन हिमालयमा गरिएको कार्यक्रममा टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डे, निवर्तमान अध्यक्ष कमला गिरी, पोखरा महानगरपालिकाको आर्थिक महाशाखा प्रमुख मनहर कडरिया, महानगरकै व्यवसाय प्रवर्द्धन केन्द्र प्रमुख नवराज अधिकारी, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङ लगायत संस्थाका प्रमुख तथा प्रतिनिधिले गोल्डेन ट्रयाङ्गल इन्टरनेश्नल बाइक टूर कार्यक्रमका संयोजक कुन्दन श्रेष्ठ लगायत राइडरलाई खादा लगाएर न्यानो स्वागत गरेका थिए ।

कार्यक्रममा टेवानकी अध्यक्ष पाण्डेले पोखरामा राइडरलाई स्वागत गर्न पाउँदा खुशी व्यक्त गरिन् । सिजनमा मात्रै होइन, अफसिजनमा पनि पोखरा पर्यटकका लागि सँधै खुला र स्वागतका लागि तयार रहेकोमा उनले जोड दिइन् ।

यस्तै टेवानकी निवर्तमान अध्यक्ष तथा टूरकी संस्थापक सल्लाहकार कमला गिरीले काठमाडौँ, चितवन र पोखरा प्रवर्द्धन गर्न गोल्डेन ट्रयाङ्गल बाइक टूरका राइडरको भूमिका महत्वपूर्ण रहेको बताइन् । विगतमा थुप्रै कठिनाई र चुनौति हुँदा पनि काठमाडौँ–चितवन–पोखरा जोड्ने यो टूर कार्यक्रम स्थापित गरेको भन्दै उनले पोखरा लगायत गण्डकी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न भविष्यमा पनि यो टूरले ठूलो भूमिका खेलिरहने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले भिजिट पोखरा २०२५ कार्यक्रमलाई जोड्दै राइडर पोखरा आउनु स्वागतयोग्य भएको बताए । कार्यक्रममा टूरका संयोजक कुन्दन श्रेष्ठले काठमाडौँ–चितवन–पोखराका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्धेश्यले टूर कार्यक्रमको दोस्रो संस्करणलाई निरन्तरता दिँदै सम्पन्न गरिएको बताए ।

‘हाम्रो उद्धेश्य भनेकै पर्यटन प्रवर्द्धन गर्दै देश घुम्नु हो । दुई वर्षअघिदेखि सुरु भएको गोल्डेन ट्रयाङ्गल टूर यस वर्ष पनि निरन्तरता दिन सक्यौँ । कमला र शोभा म्यामसँगै तपाईहरु सबैको स्वागतले हामीलाई यस वर्ष पनि उत्साहित बनाएको छ’ उनले भने ।

जेनजी आन्दोलनले गर्दा अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन गर्ने भनिएको टूर प्रभावित हुँदा पुस महिनाको जाडोमा भए पनि राइड कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाई थियो । तेस्रो संस्करण झन् भव्य र सभ्य गर्न थप तयारी गरिने पनि उनले बताए ।

दोस्रो संस्करणको राइडमा टूरका संयोजक कुन्दन श्रेष्ठसँगै सुवर्ण श्रेष्ठ, सन्जित श्रेष्ठ, पुरुषोत्तम राई, हरि श्रेष्ठ, मनोज थापा, सरोज महर्जन, दीपेन्द्र खड्का, उमेश रिमाल, दुर्गा श्रेष्ठ र बालगोपाल श्रेष्ठ सहभागी भएका थिए ।

पोखरामा राइड सम्पन्न भएपछि राइडरहरु कोही घलेगाउँ पुगेका छन् भने कोही मुस्ताङ पुगेका छन् । केही राइडर भने काठमाडौँ फर्किएका छन् । टूरमा सहभागी भएर राइड सम्पन्न गरेका राइडरलाई नेपाल टूरिजम फेस्टिभलमा प्रमाणपत्र वितरण गरिने टूरका संस्थापक तथा आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।

सन् २०२३ मा उनकै योजना, पहल र नेतृत्वमा नेपाल टूरिजम फेस्टिभलसँगै नेपालको सबैभन्दा लामो ‘नेपाल टूरिजम प्रोमोसन’ ताप्लेजुङ–दार्चुला बाइक टूर र गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रम सुरुवात भएको थियो ।