९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने, चारै खेल दशरथ रंगशालामा हुने



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने भएको छ ।

नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग ‘होम गेम’ खेल्नेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार कुवेतले उसको ‘होम गेम’ नेपालमा आएर खेल्न सहमति जनाएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ ।

हालै फिफाले नेपालको ‘होम एन्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गरेको थियो । अन्तमा कुवेतले सट्टापट्टा गरेर खेल्न मानेपछि समस्या सुल्झिएको हो ।

अब नेपालले खेल्ने विश्वकपका चार खेल दशरथ रंगशालामा हुनेछ । नेपाली टोली विश्वकप छनोटका लागि अहिले प्रशिक्षक येहान कालिन प्रशिक्षणमा व्यस्त छ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म सञ्चालन हुनेछ ।

नेपालले छनोट चरणको पहिलो खेल कुवेतसँग खेल्दैछ । कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा हुनेछ । यसैगरी नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ ।

नेपालले चाईनिज ताइपेईसँग सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ तारिखमा दशरथ रंगशालामा खेल्नेछ । नेपालले अष्ट्रेलियासँग आगामी अक्टोबर १० मा अवे खेल खेल्नेछ । घरेलु मैदानमा भने अष्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा खेल्नेछ ।