• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

फास्ट ट्र्याकमा दबाब झेल्दै सेना, दुई वर्ष डीपीआरमै बित्यो



काठमाडौं। काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेना मन्त्रिपरिषद्मा पुगेको डीपीआर स्वीकृत नहुँदा दबाबमा परेको छ । सेनाले २७ साउन २०७४ मा २०७८ साउनभित्र सम्पन्न गरिसक्ने गरी सो सडक निर्माणको जिम्मेवारी पाएको थियो । तर, निर्माणको जिम्मेवारी पाएको दुई वर्ष बित्दासमेत सेनाले निर्माण अघि बढाउन आवश्यक पर्ने डीपीआरको अन्तिम निर्णय प्राप्त गर्न सकेको छैन । डीपीआर नहुँदा सेनाले सो सडकखण्डमा पुल निर्माणसहितका ठूला कामका लागि प्रक्रिया अघि बढाउन सकेको छैन ।

सेनाले गत ५ चैतमा द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०को मस्यौदा रक्षा मन्त्रालयमा बुझाएको थियो भने रक्षा मन्त्रालयमार्फत गत १२ चैतमा मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषद्मा पुगेको पाँच महिना बित्दा समेत डीपीआरबारे सेनाले सरकारको निर्णय पाएको छैन ।

डीपीआर स्वीकृत नहुँदा पुल, पर्र्खाल र सुरुङ निर्माणलगायतका ठूला काम अघि बढ्न नसकेको हो । यस्तै, अन्य कामलाई समेत सहज बनाउन सेनाले द्रुतमार्गका सात स्थानमा बेलिब्रिज बनाएर काम अघि बढाउन तयारी थालेको छ । जसअनुसार दुई स्थानमा बेलिब्रिज जडान भइसकेको छ भने अन्य दुई स्थानमा समेत जडान गर्ने तयारी भइरहेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाले डीपीआरका विषयमा सरकारको नीतिगत निर्णय कुरेर बसेको र निर्णय आएलगत्तै बाँकी सबै काम अघि बढ्ने बताए ।

‘डीपीआरका विषयमा नेपाली सेना सरकारको नीतिगत निर्णय कुरेर बसेको छ । सरकारबाट निर्णय आएलगत्तै बाँकी सबै काम धमाधम अघि बढ्छ,’ नेपाली सेनाका प्रवक्ता पाण्डेले राजधानीसँग भने ।

केही दिनअघि मात्रै सेनाले मन्त्रिपरिषद्मा डीपीआर अड्किएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले डीपीआर स्वीकृतिमा ढिलाइ भएको भन्दै रक्षा मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेलसमक्ष सेनाका तर्फबाट गुनासो राखेका थिए । त्यसलगत्तै प्रधान सेनापति थापाले डीपीआरको अन्योलको गाँठो २४ घण्टाभित्र खोलिदिन सरकारसँग आग्रह गरेका थिए ।

द्रुतमार्गमा केही प्राविधिक विषयलाई सच्याएर सरकारबाट स्वीकृत हुने जवाफ सरकारले सेनालाई दिएको छ । स्रोतका अनुसार चार लेनको द्रुत मार्गलाई सिस्नेरी क्षेत्रमा पर्ने बाग्मती खोलामा भने दुई तर्फबाट दुई–दुई लेनको बनाएर लैजाने र खोला सकिएपछि चार लेनको सडकमा जोड्ने गरी सेनाले बुझाएको डीपीआरमा सरकारले प्राविधिक पक्ष हेरिरहेको छ । यस्तै, पछिल्लो समय थप हुने लागतका विषयमा समेत सरकारी पक्ष छलफलमा छ ।

मन्त्रिपरिषद्बाट डीपीआर स्वीकृत नहुँदा सेनाले गत आर्थिक वर्षमा द्रुतमार्गका लागि पाएको रकममध्ये ९ अर्ब रुपैयाँ बेरुजु हुन नदिने भन्दै सरकारलाई फिर्ता पठाएको थियो । सेनाले गत आर्थिक वर्षमा सरकारबाट १५ अर्ब ३९ करोड रुपैयाँ पाएको थियो ।
प्र

वक्ता पाण्डेले द्रुतमार्गको कामलाई सहज बनाउन सात स्थानमा बेलिब्रिज बनाउने काम अघि बढाइएको बताए ।

‘हामीले कामलाई धमाधम अघि बढाएका छौं । सडकको कामलाई सहज बनाउन पछिल्लो समय सात स्थानमा बेलिब्रिज हाल्ने काम अघि बढेको छ,’ प्रवक्ता पाण्डेले भने ।

सेनाले हाल द्रुत मार्गमा ढिस्को कटिङ र रुख काटिएका ठाउँमा रिफिलिङको काम गरिरहेको छ । यस्तै, पुल निर्माणका लागि ६ विदेशी कम्पनीलाई समेत छनोट गरिसकेको छ । जसमा पाँच चिनियाँ कम्पनी र एक टर्कीस कम्पनी छन् । तर, सरकारबाट डीपीआर स्वीकृत नहुँदा उनीहरूले बाँकी प्रक्रियामा जान पाएका छैनन् । सेनाले द्रुत मार्गको सुपरिवेक्षण गर्न समेत ६ वटा विदेशी कम्पनीको प्रस्तावना (प्रपोजल) लिइसकेको छ । ती कम्पनीलाई सेनाले द्रुतमार्गमा डीपीआरअनुसार काम भए–नभएको अनुगमन गर्न भन्दै प्रस्तावना माग गरेको थियो । तर, डीपीआर नै स्वीकृत नहुँदा उनीहरूसमेत अन्योलमा छन् ।

सेनाले सुपरिवेक्षणका लागि भन्दै दक्षिण कोरिया, सिंगापुर, अमेरिका, पोर्चुगल, स्पेन र भारतका गरी संयुक्त तथा केही एकल प्रस्तावनासमेत स्वीकार गरेको थियो । सेनाले द्रुत मार्गको डीपीआर बनाउने जिम्मा भने कोरियाली कम्पनी सुसुङलाई दिएको थियो । सुसुङसँग भने सेनाले २० माघमा नै डीपीआर बुझेको थियो ।

सेनासँगको सम्झौताअनुसार डीपीआरको लागत १० करोड १२ लाख ७८ हजार ९३२ रुपैयाँ तोकिएको थियो । सेनाले आफूले बुझेर केही प्राविधिक विषयसहित परिमार्जन गरेपछि सरकारलाई बुझाएको थियो । सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत गरेपछि सेनालाई द्रुत मार्गको बाँकी काम गर्न कानुनी बाटो खुल्नेछ ।

सुसुङबाट सेनाले प्राप्त गरेको प्रतिवेदनअनुसार सो सडक तराई क्षेत्रमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर चौडाइ प्रस्तावित छ । यस्तै, द्रुत मार्गमा ८७ वटा पुल र तीनवटा टर्नेल (सुरुङ) प्रस्तावित छ । सेनाले केही स्थानमा असहज महसुस गर्दै सुरुङ बढाउन प्रस्ताव गरेपछि डीपीआरमा पुलको संख्या पहिले प्रस्ताव भए भन्दा घटेको थियो ।

यसअघि द्रुत मार्गमा ९९ वटा पुल प्रस्तावित थियो भने लम्बाइसमेत ७६ दशमलव २ किलोमिटर प्रस्तावित थियो । तर, अब सुरुङको संख्या बढेपछि दूरीसमेत घटेर ७२ दशमलव ५ हुने भएको हो । जसमध्ये ८७ वटा पुलको दूरी मात्रै १० दशमलव ५९ किलोमिटर हुनेछ ।

पछिल्लो प्रस्तावमा १ दशमलव ४ किलोमिटरको सुरुङ लेनडाँडामा प्रस्तावित छ भने अर्को सुरुङ ३ दशमलव ३ किलोमिटरको महादेवटारमा प्रस्ताव गरिएको छ । यस्तै, अर्को सुरुङ धेद्रेमा १ दशमलव ३७ किलोमिटरको प्रस्तावित छ । तीनवटै सुरुङको दूरी ६ दशमलव ७ किलोमिटर हुनेछ ।सेनाले एसियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर हाल निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ ।
सेनाले मुलुकका विभिन्न भागमा हालसम्म १ हजार ११४ किलोमिटर सडक र ३० वटा पुल निर्माण गरिसकेको जनाएको छ । काठमाडौं–तराई मधेस द्रुतमार्गसहित ५२६ किलोमिटर सडकमा हाल सेनाले काम गरिरहेको छ । सेनाले बनाइरहेको २७ सडकमध्ये पाँच वटा चल्तीमा समेत आइसकेको छ । विगत ६० वर्षदेखि नेपाली सेनाले विकास निर्माणका काममा सहभागिता जनाउँदै आएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।