११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो



अ+ अ-

ललिपुर । शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पुर्याएको योगदानको बारेमा चर्चा गरियो ।

ललितपुर बखुमबहाल निवासी पिता माधवराज जोशी र माता रत्नमाया जोशीका मइला सुपुत्रका रुपमा विसं १९५० भदौ १३ गते जनैपूर्णिमाको दिन भारतको वनारसमा जन्मिएका शास्त्रीलाई बिसं १९९७ माघ १० गते तत्कालीन राणा शासकले टेकुको पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिईएको थियो ।

नेपाली भाषा, संस्कृति, धर्म र राष्ट्रियताको संरक्षणको निम्ति सदैव वकालत गर्ने क्रममा उनलाई देशद्रोहको अभियोग लगाइएको हो । नेपालका चार शहीदमध्ये शास्त्रीलाई शहीद शिरोमणि भनेर चिन्ने गरिन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले नेपालमा गरेको बलिदानबाट विसं २००७ मा प्रजातन्त्र स्थापना भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शोभा शाक्यले शहीदको मार्गदर्शनलाई सदैव सम्मान गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने, “सरकारसँग प्रदेश नं ३ का १३ जिल्लालाई पायक पर्ने गरी काभ्रेमा सदरमुकाम स्थापना गराउन पहल गरिरहेको छु ।” ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्यालले नेपालका चार वीर शहीदको योगदानलाई कदर गर्दै अघि बढ्नुपर्ने बताए ।

ललितपुर महानगरपालिका वडा नं १० का सचिव एकनारायण काफ्लेले शास्त्रीलगायत अन्य तीन महान् शहीदप्रति सम्मान व्यक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । शहीद स्मारक समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले शास्त्री आर्य समाजका एक महान् प्रचारक रहेको जानकारी दिए।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले वाग्मतीको पुलदेखि ललितपुर महानगरपालिका वडा नं ११ शास्त्रीको घरसम्मको बाटोलाई शुक्रराजमार्ग कार्यान्वयन गराउन महानगरपालिकालाई आग्रह गरे ।