११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको फिलाडेल्फियामा फेरि गोली हानाहान



अ+ अ-

काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा फेरि बन्दुक धारी र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ।

फिलाडेल्फियाको नाइसटाउन टियागोमा स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा एक पुरुष बन्दुक धारी र सुरक्षाकर्मीबीच गोली हानाहान भएको हो।

बिबिसीका अनुसार एउटा घरमा सुरक्षाकर्मीले लागुऔषध ओसारपसारकर्ता खोजी गर्दै थिए। सोही क्रममा छिमेकबाट ती बन्दुकधारीले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए । त्यसपछि उनले सुरक्षाकर्मीसामु आत्मसमर्पण गरेका थिए।

अमेरिकी सञ्चार माध्यमले उनको नाम म्यारिस हिल बताएका छन्। ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताइएको छ। उक्त घटनामा छ जना सुरक्षाकर्मी घाइते भएका छन्।

यसअघि पनि अमेरिकाका विभिन्न क्षेत्रमा गोली काण्ड भएका थिए। अमेरिकाको ओहायो राज्यस्थित डेटनमा गत आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको थियो। उक्त घटनामा अन्य १६ जना घाइते भएका थिए।

त्यस्तै, अमेरिकाको टेक्सासमा गत शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य २६ जना घाइते भएका थिए। अमेरिकामा सन् २०१९ लागेपछि २१६ दिनमा योसमेत २५२ गोलीकाण्ड भएका छन्।