१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’

‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’
अ अ+ अ-

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ । विगतभन्दा फरकरूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झण्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको गृहसचिव प्रेमकुमार राईले बताए । अन्तर्राष्ट्रिय खेलमा दर्शकको हातमा झण्डा हुँदा त्यसले देशको प्रतिनिधित्व गर्छ ।

त्यो देख्दा सम्बन्धित देशका जनतालाई आफ्नो देश भनेर गर्वको अनुभूति हुन्छ । त्यसैले सरकारले राष्ट्रिय भावनालाई थप जागृत गराउन झण्डालाई प्राथमिकता दिएर दिवस मनाउन लागेको हो । राष्ट्रिय झण्डा, राष्ट्रको गौरव र सम्मानको प्रतीक हो । राष्ट्रिय महत्वलाई झल्काउँदै जातजाति र समुदायबीच एकता कायम गर्नमा झण्डाको अहम् भूमिका हुन्छ । विश्वकै पृथक र आकर्षक मानिने नेपालको तीनकुने आकारको झण्डा आफैँमा नेपाल र नेपालीको पहिचान हो ।

दुई त्रिकोणमध्ये माथि चन्द्र र तल सूर्य अङ्कित छ । जसले चन्द्र जस्तै शीतल र सूर्यको जस्तै तेज र अटलताको सङ्केत गर्दछ । नेपालको झण्डामा सिम्रिक रङ छ, यो क्रान्तिको प्रतीक पनि हो र किनारामा शान्तिको प्रतीकका रूपमा गाढा नीलो रङ छ । दिवसका दिन असोज ३ मा उपस्थित भई झण्डा बोकेर र्यालीमा सहभागी हुन सबै कर्मचारीलाई सरकारले आग्रह गरेको छ ।

दिवसका सन्दर्भमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरिएको गृहसचिव राईले जानकारी दिए । “उक्त नारा मोबाइल सन्देशमार्फत हरेकलाई पठाइन्छ, झण्डाका रङका पोशाक, चङ्गा आदि निर्माण गर्ने र घरघरमा झण्डा राख्न आह्वान गर्ने तथा हरेक कार्यक्रममा झण्डा फहराइनेछ, कार्यक्रम झण्डामय हुन्छ”, गृहसचिव राईले भने ।

दिवसलाई झण्डामय बनाउन लागिएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डाले राष्ट्रिय एकता र उपलब्धिलाई मौन ढङ्गले दृढतापूर्वक अभिव्यक्त गर्ने प्रतिक्रिया दिए । उनले झण्डालाई घरमा, मुटुको अगाडि र पछाडि पर्नेगरी वा हातमा या शिरमा राखेर सम्मानपूर्वक प्रयोग गरी राष्ट्रिय उत्सव मनाउनसमेत आह्वान गर्नुभयो । यसका लागि आवश्यक सहयोग गर्न निजी क्षेत्र र सम्बद्ध सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । दिवसका अवसरमा आयोजना हुने नियमित कार्यक्रमका अतिरिक्त नयाँ कार्ययोजनाका साथ थप कार्यक्रम तय गरी राष्ट्रिय झण्डाको प्रयोगलाई प्राथमिकता दिइएको छ ।

झण्डा कागज वा कपडाकाृे प्रयोग गर्न भनिएको छ । प्लास्टिकको झण्डालाई निषेध गरिएको छ ।स्थानीय तहमा समेत राष्ट्रिय झण्डा प्रदर्शन गर्न लगाउने, संविधान जारी भएको दिनमा वस्तु वा सेवामा विशेष छुट गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ । यसपालि झण्डालाई बढी महत्व दिई घरघरमा झण्डा राख्न र हातहातमा लिनका लागि भनिएको छ । दिवसमा आयोजना हुने र्यालीलाई समेत झण्डामय बनाइनेछ ।

स्कुल तथा कलेजमा राष्ट्रिय झण्डा तथा राष्ट्रभक्तिको विषयमा कविता, वक्तृत्वकला हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्न, सार्वजनिक चोकमा राष्ट्रिय गान तथा राष्ट्रभक्तिका गीत, कन्सर्ट आयोजना गरी महोत्सव गर्ने व्यवस्था मिलाउन मूल समारोह समितिले आह्वान गरेको छ । शुभकामना, एसएमएसका साथै डिस्प्ले बोर्ड, सिनेमा हलमा चलचित्र शुरु हुनुअघि झण्डा र राष्ट्रिय गान बजाउन लगाउने तथा उपत्यकाभित्र सरकारी कार्यालय तथा महानगर नगरपालिकाले राष्ट्रिय झण्डा सजाएर नगरको शृङ्गार तथा सजावट गर्न तथा राष्ट्रिय झण्डा रिले दौड र क्रिकेट प्रतियोगिता गर्न समितिले आग्रह गरेको छ ।

यस्तै विभिन्न मठमन्दिर, चर्च, मस्जिद, बौद्ध विहार, गुरुद्वारामा राष्ट्र, राष्ट्रियता र संविधानका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुको आत्मशान्तिका लागि पूजापाठ र प्रार्थना गर्न आग्रह गर्ने निर्णय भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डासहितको र्याली गर्दै असोज ३ गते मूल समारोहस्थलमा सहभागी हुन, टुँडिखेलमा सांस्कृतिक र राष्ट्रिय पोशाकमा राष्ट्रिय झण्डासहित भेला हुन भनिएको र हेलिकप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरिने भएको छ ।

दिवसको पूर्वसन्ध्यामा भदौ २७ देखि तयारी तीव्र पारिनेछ । तयारीका लागि आजै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ३८ सदस्यीय मूल समारोह समिति गठन भएको छ । कार्यक्रम सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन समिति र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चौर, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

असोजको २ देखि ४ गतेसम्म हुने मुख्य कार्यक्रममा सरसफाइ, विभिन्न प्रचारात्मक कार्यक्रम तथा दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन हुनेछ । मुख्य दिन असोज ३ गते भने सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिनेछ ।

यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ । सबै कार्यक्रममा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइने मूल समारोह समितिले जनाएको छ ।