५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

केन्याको लागुऔषध गिरोहमा नेपाली युवती

केन्याको लागुऔषध  गिरोहमा नेपाली युवती
अ+ अ-

काठमाडौं । केन्याको एक संगठित र ठूलो लागुऔषध माफियाको गिरोहमा एक नेपाली युवतीसमेत संलग्न रहेको खुलेको छ । भारतीय मूलका विवादास्पद व्यापारी अली पुन्जानीको गिरोहमा नेपाली युवती सुस्मिता कार्कीको संलग्नता खुलेपछि उनीमाथि केन्या प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मोम्बासा सहरमा रहेको पुन्जानीको घरबाट गत १३ अगस्टमा कार्कीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतको आदेशमा उनी दुई दिनपछि छुटेकी छिन् । थप अनुसन्धान गरी उनीमाथि मुद्दा दायर हुने केन्या प्रहरीलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेपछि कार्कीले आफू पुन्जानीको श्रीमती भएको बताएकी छिन् । उनको घरबाट नेपाली युवक शिव बस्याल र भारतीय नागरिक राम मनोजसमेत पक्राउ परेका थिए । बस्याल र मनोज घरेलु कामदार हुन् । उनीहरू तीनैजना अदालतको आदेशमा छुटेका छन् ।

भारतीय मूलका व्यापारी पुञ्जानी फरार
केन्याको दोस्रो ठूलो सहर मोम्बासामा बस्दै आएका भारतीय मूलका व्यापारी पुञ्जानी हाल फरार छन् । लागुऔषध मुद्दामा केन्या प्रहरीले उनीमाथि वारेन्ट जारी गरिसकेको छ । उनीमाथि पहिलेदेखि नै अवैध गतिविधिमा संलग्न भएको आरोप लाग्दै आए पनि अहिलेसम्म लागुऔषध तस्करीको मुद्दा दायर भएको छैन । उनको अवैध धन्दामा राजनीतिक तथा प्रहरीको संरक्षण रहेको भन्दै कारबाहीका लागि यहाँको संसद्मा माग भएको थियो ।

केन्याको उच्च तहसँगको पहुँचका आधारमा उनले उन्मुक्ति पाउँदै आएको केन्याका सञ्चारमाध्यमले जनाएका छन् । उनका सहयोगीहरू पटक–पटक ठूलो मात्रामा कोकिन र हेरोइनसहित पक्राउ पर्दै आएका छन् ।

गत १३ अगस्तमा १२ घन्टा लगाएर प्रहरीले पुञ्जानीको घरमा छापा मारेको थियो । उनको घरमा ठूलो मात्रामा लागुऔषध रहेको आशंका छापा मारिएको थियो । तर, थोरै गाँजा मात्र भेटिएको थियो । तस्करीमा सघाएको आरोपमा कार्कीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेकोमा लागुऔषध बरामद नभएपछि उनीहरू छुटेका हुन् ।

लागुऔषध कारोबारविरुद्ध केन्या सरकारले थालेको अभियानअन्तर्गत उनको घरमा छापा हानिएको थियो । तर, पुञ्जानीले प्रहरीबाट त्यसबारे पहिले नै सूचना पाएको र भारतमा भागेको केन्याका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सोही अभियोगमा मोम्बासाका केही उच्च प्रहरी अधिकारीको सरुवा गर्न लागिएको छ । मोम्बासा सहरकै सबैभन्दा धनाढ्यका रूपमा चिनिएका उनीमाथि नक्कली नोट कारोबारको आरोपसमेत लाग्दै आएको छ ।

पुञ्जानीको गिरोहमा कसरी पुगिन् नेपाली युवती ?
पुञ्जानीको गिरोहमा नेपाली युवती कसरी जोडिइन् भन्ने प्रस्ट हुन सकेको छैन । केन्याका एक गैरआवासीय नेपालीका अनुसार पुञ्जानी नेपाल गएका वेला मन पराएर उनले कार्कीलाई ल्याएको चर्चा छ । उनी डिपेन्डेन्ट भिसामा केन्यामा बस्दै आएकी छिन् । २४ वर्षीया कार्की पुञ्जानीकी तेस्री श्रीमती भएको चर्चा पनि छ । यसअघि पुञ्जानीले किम शर्मा नामक भारतीय अभिनेत्रीसँग बिहे गरेका थिए ।

आफ्नो पहुँच प्रयोग गरेर नै पुञ्जानीले कार्कीलगायतलाई छुटाएको आशंका गरिएको छ । प्रमाण संकलनका लागि समय नै नदिई अदालतले उनीहरूलाई छाडेको भन्दै यो प्रकरण विवादमा समेत तानिएको छ । छुटेलगत्तै उनीहरूलाई फेरि पक्राउ गर्न प्रहरी पुगे पनि उनीहरू असफल भएका थिए । थप अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा चलाइने अनुसन्धान अधिकृतले बताएका छन् ।

पुञ्जानी अमेरिकामा समेत ‘वान्टेड’ व्यक्ति हुन् । अमेरिकामा बरामद भएको हेरोइन उनले पठाएको खुलेपछि चार वर्षअघि उनीविरुद्ध वारेन्ट जारी भएको हो । केन्यामा उनी निकै प्रभावशाली व्यक्ति हुन् । यहाँको राष्ट्रपति चुनावमा आफूनिकट व्यक्तिलाई जिताउन उनले करोडौँ लगानी गर्छन् । राजनीतिक तथा प्रहरी नेतृत्वसँग निकटतम सम्बन्ध भएकाले उनले संरक्षण पाउँदै आएका छन् । सन् २०१३ मा प्रहरीलाई उनले १० वटा भ्यान उपहार दिएका थिए । ती भ्यानमै लागुऔषध तस्करी हुने गरेको आरोप लागेको थियो । प्रहरीलाई प्रभावमा पारेकाले नै उनको बंगलाको सुरक्षामा एक दर्जनभन्दा बढी प्रहरी खटिएका थिए ।

गत वर्ष नेपाली युवतीहरू काम गर्ने केन्याका डान्स बारमा उनकै निर्देशनमा छापा हानिएको केन्याको डेली नेसन पत्रिकाले लेखेको छ । उसका अनुसार नेपाली युवतीहरू कार्यरत डान्स बारमा धेरै व्यापार भएपछि पुञ्जानीनिकट व्यवसायीहरूको डान्स बारको व्यापार खस्किएको थियो । सोही कारण उनले स्थानीय प्रहरीलाई प्रभावमा पारी छापा हान्न लगाएका थिए । त्यसवेला सातजना नेपाली युवती पक्राउ परेका थिए । पुञ्जानीलगायत विभिन्न माफिया समूहले चलाएका डान्स बारमा नेपाली युवतीको तस्करी हुने गरेको छ । पुञ्जानीले लागुऔषध ओसार–पसारमा पनि केही नेपालीलाई समेत प्रयोग गरेको आशंका गरिएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।