५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै रूपन्देही

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै रूपन्देही
अ+ अ-

बुटवल । पोखराका कृष्ण गुरुङ अघिल्लो शुक्रबार नवलपुरको मध्यबिन्दु नगरपालिका–८ बाट लागुऔषधसहित पक्राउ परे। रूपन्देहीको सीमावर्ती भारतीय बजारबाट लागुऔषध बोकेर पोखरा जाँदै गरेका उनी रूपन्देही र नवलपरासी जिल्ला पार गरेर नवलपुर पुगेपछि प्रहरीको नियन्त्रणमा परेका हुन्। पोखरा लेखनाथ नगरपालिका–१८ निवासी गुरुङका साथबाट प्रहरीले डाइजेपाम, नुफिन, फेनेरागन गरी ७ सय ७४ एम्पुल लागुऔषध बरामद गरेको थियो।

भैरहवास्थित बेलहिया नाकाबाटै लागुऔषध बोकेर पोखरा जाँदै गरेका अर्का एक पोखरेली युवा पनि सोही दिन पश्चिम नवलपरासीबाट समातिए। पोखरा लेखनाथ–११ रानीपौवाका कुमार राईले स्कुटरमा लुकाएर लैजाँदै गरेको १ सय ७ एम्पुल लागुऔषध नवलपरासी प्रहरीले बरामद गरेको थियो। भदौ ६ गते शुक्रबार नवलपरासीका दुई युवा पनि लागुऔषधसहित समातिए।

भैरहवापारिको भारतीय बजार सुनौलीबाट ब्राउन सुगर किनेर ल्याउँदै गरेका नवलपरासी सरावलका मुन्ना कहार र रेशमराज कहारलाई रूपन्देहीको तिलोत्तमाबाट १ सय ६० ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद रूपमा हिँडिरहेको देखेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो। गत सोमबार नवलपरासीको सुनवल नगरपालिका–१२ का जीवन कँडेल पनि लागुऔषधसहित बुटवलबाट पक्राउ परे। भारतीय बजार सुनौलीबाट लागुऔषध बोकेर फर्कंदै गरेका चितवनको गीतानगर नगरपालिका–१ का राजकुमार परियार भैरहवामा पक्राउ परे।

पछिल्लो समय पर्यटकीय नगरी पोखरा, चितवन लागुऔषधका अम्मलीको अखडा बन्दै गर्दा रूपन्देहीको भैरहवा ती स्थानका लागि लागुऔषधको सप्लाई गर्ने ट्रान्जिट बनेको छ। भैरहवास्थित बेलहिया नाका तथा आसपासका क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्रिन्छ। रूपन्देहीको सीमावर्ती भारतीय बजार सुनौलीमा मेडिकल र किराना पसलमा समेत औषधिजन्य लागुपदार्थ र ब्राउन सुगर सस्तोमा सजिलै किन्न पाइने भएकाले लागुऔषध कारोबारी तथा प्रयोगकर्ताले बेलहिया नाका तथा भैरहवा आसपासको क्षेत्रलाई ट्रान्जिटका रूपमा प्रयोग गरिरहेका छन। काठमाडौं, पोखरा, चितवन, बागलुङ, स्याङ्जा, नवलपरासी, पाल्पालगायत जिल्लाबाट तस्करहरूले दुव्र्यसनीहरूलाई भरीयाका रूपमा प्रयोग गरी सीमापारिबाट लागुऔषध तस्करी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

रूपन्देहीमा एक वर्षमा लागूऔषधसम्बन्धी ३ सय ७१ मुद्दा दर्ता भएका छन्। रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले गत आर्थिक वर्षमा ३२ महिलासहित ५ सय २१ जना लागुऔषध मुद्दामा पक्राउ परेको बताए। पक्राउ पर्नेमा १४ वर्षदेखि ४० वर्ष उमेरसम्मका छन। उनीहरूले शरीरका विभिन्न भागमा लागुऔषध लुकाएर ल्याएका थिए। पक्राउ पर्नेहरूमध्ये अधिकांश बाहिरी जिल्लाका छन्। पक्राउ परेकाले आफू भरिया भएको बताउँछन्। लागुऔषध बोर्डर कटाएबापत हजारदेखि १० हजार रुपैयाँसम्म ज्याला पाउने उनीहरू बताउँछन्। सीमावर्ती भारतीय बजार सुनौलीका औषधि पसल तथा भित्री गल्लीका किराना पसलहरूमा समेत लागुऔषध किनबेच हुन्छ।

जहाँ ब्राउन सुगर, स्पास्मो, नाइट्रोजन, टिडिजेसिक फेनारगन, फेन्साडिल, डाइजेपाम, नुफिन, लुपिजेसिकजस्ता लागुऔषध सजिलै किन्न पाइने भएकाले तस्करका आँखा सुनौली बजारमा केन्द्रित भएको हो। सुनौली आसपासका गाउँहरू फरेना, कैलाशनगर, कालिमन्दिरबाट ब्राउन सुगर नेपाल भित्रिन्छ।

लागूऔषध प्रयोगकर्ताहरूका अनुसार भारतीय बजार सुनौलीलाई लागूऔषधका तस्करले सुनौलो बजारका रूपमा लिन्छन्। नेपाल–भारत चल्ने बस, सहज रूपमा सीमावारपार गर्ने रिक्सा, मोटरसाइकल, मालवाहक ट्रक र बाह्रैमास किनमेलका लागि सुनौली बजार जाने नेपालीको भीडबाट प्रहरीको आँखा छल्न सहज हुने लागूऔषध मुद्दामा जेलजीवन काटिरहेका एक युवा बताउँछन्। जहिल्यै भीडभाड हुने मुख्य नाका र त्यसवरपर नेपाल प्रहरीको निगरानी कम पुग्दा लागुऔषध तस्करले खेतबाट रातसाँझको समयमा समेत लागुऔषध नेपाल भिœयाउने उनले बताए। त्यस्तै सुनौलीमा डेढदेखि २ सय रुपैयाँ पर्ने औषधिजन्य लागुऔषध काठमाडौं, चितवन र पोखरा पुर्याउँदा ५ सयदेखि २ हजार रुपैयाँ प्रतिडोज मूल्य पर्ने भएकाले तस्करहरू सुनौलीतिर पल्किएको ती युवाको भनाइ छ।

लागुओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन्। प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना भेटिँदैनन्। पक्राउ पर्नेहरू पनि प्रहरीका थुप्रै युनिट छलेर बुटवल, पाल्पा, नवलपरासी पुगेपछि लागुऔषधसहित समातिएका छन्। सुनौली र आसपासका क्षेत्रबाटै खुलमखुला लागुऔषध किनबेच तथा ओसारपसार भइरहँदा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा चासो दिएको देखिँदैन। सीमावारीबाट सहज आपूर्ति हुँदा दुव्र्यसनीको संख्या बढदो छ।

लागुऔषधको दुव्र्यसनी रोक्न यसको सहज उपलब्धतालाई रोक्नुपर्ने बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपाने बताउँछन्। त्यसका लागि सीमावारिबाट हुने तस्करी र सेवन गर्न जाने युवाहरूलाई नाकामै रोक्नुपर्नेमा उनले जोड दिए। प्रदेश प्रहरीले लागुऔषधसम्बन्धी मुद्दालाई मुख्य चुनौतीकै रूपमा लिएको प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेशविक्रम शाहले बताए। यसको तस्करी तथा दुव्र्यसनी नियन्त्रणका लागि प्रदेश प्रहरीले विशेष अभियान नै चलाउने भन्दै डिआइजी शाहले आमनागरिक तथा अभिभावकहरू पनि यसबारे सचेत हुनुपर्नेमा जोड दिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।