५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

ब्युँतिँदै समाजवादी-राजपा एकता

ब्युँतिँदै समाजवादी-राजपा एकता
अ+ अ-

काठमाडौँ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच धेरै अघिदेखि चल्दै–रोकिँदै आएको एकीकरण प्रसंग ब्युँतिएको छ । तत्काल एकीकरण गरी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्ने भन्दै समाजवादी र राजपाका शीर्ष नेताले छलफललाई तीव्रता दिएका छन् ।

यही सिलसिलामा उनीहरूबीच शुक्रबार पनि छलफल भएको छ । समाजवादी अध्यक्ष उपेन्द्र यादवको निवासमा भएको वार्ता सकारात्मक रहेको राजपा अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले बताएका छन् ।

‘वैचारिक रूपमा दुई दलबीच सहमतिजस्तै छ, संगठन र व्यवस्थापनका कुरा कसरी टुंग्याउने भन्नेमा विविध कोणबाट छलफल जारी छ,’ भण्डारीले भने, ‘सकभर चाँडै सहमति जुट्ने आशा छ ।’ राजपाले एकीकरणका केही आधारसमेत अनौपचारिक बैठकमा राख्दै आएको छ । त्यसप्रति समाजवादीले औपचारिक धारणा बनाइसकेको छैन । समाजवादीको भदौ ११ गते बस्ने पदाधिकारी बैठकमा राजपाका आधार र एकीकरणका मोडलबारे छलफल हुने भएको छ ।

समाजवादीका महासचिव गंगा श्रेष्ठका अनुसार पदाधिकारी बैठकपछि एकतालाई निष्कर्षमा पुर्‍याउने गरी अघि बढाइनेछ । ‘अहिले शीर्ष तहमा सामान्य छलफल भइरहेको छ, पार्टीको पदाधिकारी बैठकमा एकताका विविधि पक्षमा छलफल हुन्छ,’ उनले भने, ‘त्यसपछि गठन भएको वार्ता समिति क्रियाशील ढंगले अघि बढ्छ ।’

समाजवादीले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र राजपाले अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति बनाएका छन् । समितिले अनौपचारिक तहमा धेरै चरणमा संवाद गरे पनि औपचारिक वार्ता गर्न सकेको छैन । शुक्रबारको वार्तालाई पनि दुवै पक्षले अनौपचारिक छलफलकै रूपमा लिएका छन् ।

राजपा नेता भण्डारीका अनुसार समानताकै आधारमा पार्टी एकीकरण गर्ने छलफल अघि बढेको छ । राजपाले आन्तरिक छलफलका लागि एकीकरणका आधारसमेत तय गरेको छ । जसमा दुवै पार्टीका केन्द्रीय संरचना समानताका आधारमा निर्माण गर्ने प्रस्ताव राजपाको छ । यी दुवै पार्टीको राष्ट्रिय हैसियत उस्तै छ ।

प्रतिनिधिसभामा तत्कालीन नयाँ शक्ति पार्टीको एकतापछि दुवै पार्टीको सांसद संख्या बराबरी छ । प्रतिनिधिसभामा दुवै पार्टीका १७/१७ सांसद छन् । राजपाले एकीकृत पार्टीका केन्द्रीयस्तरका विभिन्न समिति बनाउँदा बराबरी हैसियत हुनुपर्ने र मर्यादाक्रमको एक नम्बरमा महन्थ ठाकुरलाई राख्नुपर्ने प्रस्ताव अनौपचारिक तहमा अघि सारेको छ ।

दुवै दलबाट आवश्यकताअनुसार वरिष्ठ नेता रहने, केन्द्रीय कार्यकारणी समितिमा दुवै पार्टीबाट बराबरी संख्यामा सदस्य रहने, दुवै पार्टीको एकीकरण घोषणा हुनुअघि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्नेजस्ता प्रस्ताव राजपाका छन् । वैचारिक मतान्तरको टुंगो एकता महाधिवेशनबाट निर्णय लिनेमा राजपा सहमतजस्तै छ ।

समाजवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक प्रतिनिधित्व प्रणालीको वकालत गर्दै आएको छ । राजपा संसदीय प्रणालीको पक्षमा छ । यी दुईबीचको वैचारिक भिन्नतालाई एकता महाधिवेशनमा लगेर टुंगो लगाउन सकिनेमा दुवै पक्षमा नेता सकारात्मक छन् । पार्टीको नाम राष्ट्रिय समाजवादी पार्टी या समाजवादी जनता पार्टी नेपालमध्ये एक राख्न राजपाका नेताले सुझाएका छन् । झन्डा समाजवादी पार्टीको र चुनाव चिह्न राजपाको छाता राख्ने चर्चासमेत दुवै दलका नेताबीच चलेको छ ।

राजपा नेता भण्डारीले वार्तामा यी सबै विषयबारे छलफल नभएको दाबी गरे । लिखित ‘डकुमेन्ट’ आदानप्रदानसमेत नभएको बताए । ‘वार्ता समिति गठन गर्ने बेला समाजवादी पार्टीले पठाएको चिठीको जवाफ राजपाले दिएको छ, त्यसदेखि बाहेक अन्य लिखित डकुमेन्ट आदनप्रदान भएको छैन,’ उनले भने,‘फुटेजस्तो जुट्न सजिलो छैन ।’

भण्डारीले दुवै पार्टीका नेतामा तत्काल एकीकरण गर्नुपर्छ भन्ने आवश्यकता महसुस भएको बताए । ‘यो एकीकरणको कुरा मात्रै होइन, वैकल्पिक शक्ति निर्माणको अभियान पनि हो,’ उनले भने, ‘बहुल समाज भएको मुलुकमा दुई दलीय (नेकपा र कांग्रेस) शक्तिबाट मात्रै अहिले देखिएको राजनीतिक अस्थिरता नहट्ने रहेछ, यसले शक्ति सञ्चय गर्ने र सरकार बनाउने काम मात्रै भयो, स्थिरता ल्याएन । त्यसैले पनि मुलुकमा वैकिल्पक शक्ति आवश्यक ठानेर हामी त्यो अभियानमा जुट्न लागेका हौं ।’

राजपामा असन्तुष्टि
एकीकरण प्रक्रियालाई लिएर राजपाभित्र विवाद सुरु भएको छ । अध्यक्षमण्डलका चार सदस्यले तत्काल एकीकरणलाई निष्कर्षमा पुर्‍याउन चाहे पनि संयोजक राजकिशोर यादव र पूर्वसंयोजक अनिल झा तयार भएका छैनन् । संयोजक यादवले महाधिवेशनअघि प्राविधिक रूपमै एकीकरण प्रक्रिया टुंग्याउन कठिनाइ हुने तर्क गर्दै आएका छन् । अर्का अध्यक्ष झा राजपालाई समाजवादी पार्टीमा विलय गराउन खोजिएको आशंका व्यक्त गर्छन् ।

शुक्रबारको वार्तामा समेत यी दुई नेतालाई बोलाइएको थिएन । समाजवादीले चार शीर्ष नेतृत्वलाई मात्रै छलफलका लागि बोलाएकाले वरिष्ठताका आधारमा चार नेता सहभागी भएको राजपाका एक पदाधिकारीले बताए । ‘सिनियरबाट चार जना सहभागी हुने भनिएकाले यादव र झा नपर्नुभएको हो,’ ती पदाधिकारीले भने, ‘अन्य कुनै नियत होइन ।’

६ सदस्यीय अध्यक्षमण्डलमा झा र यादव क्रमशः पाँचौं र छैटौं वरीयतामा छन् । झाले संयोजकलाई वार्ताबारे थाहा नदिइनु गलत नियत रहेको बताए । ‘पार्टीका संयोजकलाई थाहै नदिई कसरी वार्ता भयो रु केका लागि र कसका लागि एकीकरण गर्ने हो ? संयोजकलाई थाहा हुनुपर्दैन रु संयोजक नभएको वार्तालाई संस्थागत मान्न सकिन्न, त्यो व्यक्तिगत छलफल मात्रै हो,’ उनले भने, ‘व्यक्तिगत रूपमा भएको छलफललाई कसरी वार्ता भएको भनेर मान्ने ?’

उनले वार्ता प्रक्रिया गलत भएकाले आफू त्यसमा सहमत नभएको बताए । संयोजक यादवले सैद्धान्तिक रूपमा एकीकरणको पक्षमा आफू भए पनि प्रक्रिया गलत भएको बताए । ‘नीतिगत रूपमा एकताको विरोधी हैन,’ उनले भने, ‘प्रक्रिया गलत नहोस् भन्ने हो ।’

वार्तामा समाजवादीबाट यादवका अतिरिक्त संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, सहअध्यक्ष श्रेष्ठ, महासचिव गंगा श्रेष्ठ तथा राजपाबाट अध्यक्षमण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी सहभागी थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।