काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानमा केन्द्रित हुँदै त्यसबाट अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री शाहले त्यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिनुभयो।
उहाँले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो। दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न सके आफ्नै पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सकिने उहाँको भनाइ थियो।
अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।









