२ आश्विन २०८३, शुक्रबार
,
Latest
जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद खानी तथा खनिज विधेयकलाई राष्ट्रिय पुँजी निर्माण र रोजगारीसँग जोड्न सभापति अन्सारीको जोड मधेसको विकासमा महिला, आदिवासी–जनजाति र दलितलाई मूलप्रवाहीकरण गर्न सांसद अर्यालको माग सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता खनिज विधेयकलाई लगानीमैत्री बनाएर औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छ : मन्त्री साह विपद् आएपछि उद्धार गर्ने होइन, अघिबाटै तयारी गर्नुपर्छ : कमला पन्त हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान नयाँ डिजाइनमा ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरूले बलात्कार, महिला हिंसा, सर्वोच्च अदालत तोडफोड र बाढी प्रभावितको विषयमा सरकारको ध्यानाकर्षण गराए



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले बलात्कार तथा हत्या, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड तथा बाढीका कारण प्रभावित नागरिकको अवस्थालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या घटनामा संलग्न अभियुक्तमध्ये केहीलाई बाल सुधारगृह पठाइएको तथा अन्यलाई धरौटी र तारेखमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो । क्रूर अपराधमा संलग्न व्यक्तिलाई सामान्य धरौटी र तारेखमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।

अपराधको प्रकृतिअनुसार कडा सजाय सुनिश्चित गर्न आवश्यक परे कानुन संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद रुक्मिणी कोइरालाले नवलपरासीको त्रिवेणी–३ मा शेरबहादुर विकले आफ्नी श्रीमतीको खुर्पा प्रहार गरी हत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । तीजको व्रत बसेकी श्रीमतीको हत्या भएको उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

कोइरालाले कैलालीको धनगढीमा प्रहरी जवानमाथि महिलालाई बलात्कार गरेको आरोप तथा तीन वर्षीया बालिकामाथि भएको बलात्कार र हत्याको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्ता घटनामा संलग्न व्यक्तिमाथि सरकारले के कारबाही गरिरहेको छ भन्नेबारे उहाँले प्रश्न गर्नुभयो ।

यसैगरी सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभयो । सर्वोच्च अदालतमा नियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट आक्रमण भएको दाबी गर्दै उहाँले घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सर्वोच्च अदालत आफैँ वा कुनै दुर्घटनाका कारण क्षतिग्रस्त नभएको दाबी गर्दै विश्वकर्माले घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले रसुवाका विभिन्न क्षेत्रमा बाढीका कारण सडक, पुल तथा बजारसम्मको आवागमन अवरुद्ध हुँदा स्थानीय नागरिक खाद्यान्न अभावको जोखिममा परेको विषय उठाउनुभयो । भोटेकोशी नदीमा आएको बाढीका कारण बाटो, पुल, सडक तथा अन्य संरचनामा क्षति पुगेपछि आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकालगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टरमार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा र औषधि पुर्‍याउन तथा स्थानीय तहसँग समन्वय गरी सडकमार्ग यथाशीघ्र सञ्चालन गर्न अधिकारीले सरकारसँग माग गर्नुभयो।