काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासका काममा प्राथमिकताका साथ मूलप्रवाहीकरण गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद अर्यालले मधेसको समन्यायिक, आधुनिक तथा गतिशील सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक ‘वन्दे भारत’ रेल सेवा सञ्चालनका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । यस्तो रेल सेवा सञ्चालन भए जनकपुर र अयोध्याबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै दिल्लीबाट नेपाल आउने पर्यटक तथा तीर्थयात्रीको आवागमनसमेत सहज हुने उहाँको भनाइ थियो ।
भारत सरकारका सम्बन्धित पक्षसँग यस विषयमा छलफल गर्दा उनीहरू पनि रेल सेवा सञ्चालनप्रति उत्सुक रहेको आफूले पाएको सांसद अर्यालले बताउनुभयो ।
उहाँले देशका सबै श्रमशक्तिलाई उत्पादनमूलक रोजगारी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उच्च गतिमा पुँजी निर्माण गर्ने नीति तथा कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
मधेसको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले विकासका कामलाई शीघ्र र द्रुत गतिमा अघि बढाउन आग्रह गर्नुभयो ।
सांसद अर्यालले भन्नुभयो, “महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई प्राथमिकताका साथ विकासको मूलधारमा ल्याउन आवश्यक छ । जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक वन्दे भारत रेल सेवा सञ्चालनका लागि पहल गर्नुपर्छ । यसले जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै धार्मिक पर्यटन र आवागमनलाई सहज बनाउनेछ।”
उहाँले मधेसमा समन्यायिक, आधुनिक र गतिशील सामाजिक–आर्थिक व्यवस्था निर्माणका लागि सबै श्रमशक्तिका लागि उत्पादनमूलक रोजगारी तथा तीव्र पुँजी निर्माणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
मधेसको समग्र विकासका लागि आफूले उठाएका विषयलाई संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारहरूले समेत प्राथमिकतामा राख्नुपर्ने उहाँको आग्रह थियो।








