काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका काममा असफल हुँदै गएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भाटले सरकारले जनतालाई सुशासन दिन नसकेको दाबी गर्नुभयो । उहाँले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान सरकारको कार्यशैलीमा आफूले कुनै फरक नदेखेको टिप्पणी गर्नुभयो ।
मन्त्रीहरूले सल्लाहकार नियुक्त गर्ने क्रम बढाएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्य पूरै असफलतातिर ढल्किराखेको छ । सरकारले काम गर्न सकेन, जनतालाई सुशासन दिन सकेन । मन्त्रीको सल्लाहकार राष्ट्रिय फौजजस्तै भर्ना हुन लागेको छ ।’
सांसद भाटले अघिल्लो र वर्तमान सरकारबीचको फरक व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै हिन्दी शायरीसमेत सुनाउनुभयो ।
युवा बेरोजगारीको समस्या समाधान गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको उहाँको आरोप छ । ‘५ सय युवालाई पनि रोजगारी दिन सकेन यो सरकारले,’ उहाँले भन्नुभयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमप्रति समेत सरकार गम्भीर नभएको आरोप लगाउँदै उहाँले बीमामार्फत उपचारका लागि अस्पताल पुग्ने बिरामीले प्रभावकारी सेवा पाउन नसकेको बताउनुभयो ।
कृषि क्षेत्रमा सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको सांसद भाटको आरोप छ । कृषि क्षेत्रमा करोडौँ रुपैयाँ विनियोजन भए पनि वास्तविक किसानले त्यसको लाभ पाउन नसकेको उहाँले दाबी गर्नुभयो ।
‘२ करोड रुपैयाँ कृषि माफियाको लागि अनुदान छुट्यायो र १ लाख, २ लाख, ४ लाख, ५ लाख काम गर्ने कृषक, गरीब कृषकको लागि १ रुपैयाँ पनि अनुदान छुट्याएन,’ उहाँले भन्नुभयो ।
सरकार विस्तारै राज्य सञ्चालनका सबै क्षेत्रमा असफल हुँदै गएको दाबी गर्दै सांसद भाटले सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभयो ।









