१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोमा इबोला भाइरसको प्रकोप: वार्षिक दुई हजारको मृत्यु



अ+ अ-

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको प्रकोपबाट वार्षिक दुई हजारजनाको ज्यान गएको बताइएको छ।

कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारीअनुसार संक्रमणबाट २ हजार ५ जनाको ज्यान गएको छ। तीमध्ये १ हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो। उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगस्टमा देखा परेको थियो।

स्वास्थ्य अधिकारीले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन्। अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको जनाइएको छ।

पछिल्लो सयम सन् २०१४ मा यो संक्रमणले धेरै नागरिकको ज्यान लिएको थियो। सन् २०१४ देखि शुरु भएको यस संक्रमणबाट दुई वर्षमा कम्तीमा पनि ११ हजार मानिसको ज्यान गइसकेको बताइएको थियो।

यो भाइरस जंगली जनावरबाट मानिसमा सर्दछ र इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तिब्र गतिमा सर्दछ । संक्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरु अंगबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्दछ । इबोला खासगरी चमेरोमा पाइन्छ, तर चमेरोलाई इबोलाले केही गर्दैन बरु अरुमा यो जीवाणु सार्दछ ।

चिम्पान्जी, गोरिल्ला, बाँदर, मृग र दुम्सी पनि इबोला भाइरसबाट संक्रमित भएका हुन सक्छन् । यी जनावरको शिकार गर्ने र खाने व्यक्ति पनि इबोलाबाट संक्रमित हुन सक्छन् । इबोला संक्रमित व्यक्तिलाई २ देखि २१ दिनको अवधिमा मात्र लक्षण देखा पर्न थाल्दछ । यस्ता रोगग्रस्त व्यक्तिलाई उच्च ज्वरो आउने, शरीर थकित हुने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने र घाँटीमा असजिलो हुने गर्दछ । साथै, झाडावान्ता हुने, छालामा घाउहरु देखिने, मृगौला र कलेजोले काम नगर्ने तथा शरीरको भित्री भागमा रक्तस्राब हुने डब्लुएचओले जनाएको छ ।

उपचार गरी कुनै इबोला पीडित व्यक्ति स्वस्थ भएपनि आजीवन त्यस्ता व्यक्तिमा आर्थराइटिस हुने, आँखाको दृष्टि कमजोर हुने, आँखा सुन्निने तथा सुन्ने क्षमता कमजोर हुने गर्दछ ।