२ आश्विन २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक जारी जेन्जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह : ‘स्वदेशमै रोजगारी सिर्जना गर्न उदाहरण बन्नुस्’ एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे सीआईबीको नियन्त्रणमा बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’ दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पछिल्लो रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्ले नेपालले पछिल्ला दुई दशकदेखि अघि बढाउँदै आएको समृद्धिको विकास अवधारणामाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी छलफलका क्रममा मन्त्री खनालले नेपालको विकास संरचना हिमाली नदी करिडोरमा अत्यधिक निर्भर हुँदै गएको बताउनुभयो ।

उहाँका अनुसार उत्तर–दक्षिण सडक, अन्तरदेशीय कनेक्टिभिटी, बस्ती तथा बजार विकास, जलविद्युत् आयोजना र सीमावर्ती पूर्वाधारलगायतका अधिकांश विकासका आधार प्रमुख नदी प्रणाली तथा करिडोरसँग जोडिएका छन् । यस्तो अवस्थामा हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य विपद्लाई छुट्टाछुट्टै घटनाका रूपमा नभई समग्र विकास योजनासँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री खनालले पछिल्लो विपद्लाई आफूले ‘हिमाली सुनामी’का रूपमा अनुभव गरेको उल्लेख गर्दै यसले विगत २०–२५ वर्षदेखि निर्माण हुँदै आएको नेपालको समृद्धिको ‘न्यारेटिभ’माथि नै प्रश्न उठाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको समृद्धिको हाम्रो पछिल्लो परिकल्पना ठूलो हदसम्म हिमाली नदी करिडोरसँग जोडिएको छ । उत्तर–दक्षिण सडक, कनेक्टिभिटी, बस्ती तथा बजार विकास र जलविद्युत् यी सबै प्रमुख नदी प्रणालीमा आधारित छन् । तर पछिल्लो विपद्लाई मैले ‘हिमाली सुनामी’ भन्ने गरेको छु । यसले विगत २०–२५ वर्षदेखि निर्माण गर्दै आएको समृद्धिको न्यारेटिभलाई नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।”

नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको जलविद्युत् विकाससमेत हिमाली नदी प्रणालीमै निर्भर रहेको उहाँले बताउनुभयो । आन्तरिक खपत तथा विद्युत् निर्यातमार्फत आर्थिक समृद्धि हासिल गर्ने नेपालको लक्ष्य रहे पनि जलविद्युत् विकासको आधार नै नदी करिडोर भएकाले जलवायु तथा विपद् जोखिमलाई विकास योजनाको केन्द्रमा राख्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री खनालले विपद्को जिम्मेवारी कुनै एउटा मन्त्रालय, संस्था वा निकायमा सीमित गर्न नहुने बताउनुभयो । बस्ती विकासदेखि ऊर्जा, सडक, उत्तर–दक्षिण करिडोर, कनेक्टिभिटी र लगानीसम्मका विषय एउटै विकास अवधारणासँग जोडिएकाले विपद्लाई पनि ‘होल अफ गभर्मेन्ट’ दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

“बस्ती, ऊर्जा, सडक, उत्तर–दक्षिण करिडोर, कनेक्टिभिटी र लगानीलाई जलवायु तथा विपद् जोखिमसँग जोडेर नयाँ विकास मोडेल बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

बदलिँदो जलवायु जोखिमका बीच नेपालले कसरी दिगो रूपमा समृद्धि हासिल गर्ने भन्ने विषयमा सरकारको समग्र सोच पुनःनिर्धारण गर्नुपर्ने मन्त्री खनालको भनाइ छ । त्यसका लागि विधायिकी प्राथमिकता, सरकारी नीति, विकासको समग्र दृष्टिकोण तथा स्रोत परिचालनको आधारसमेत नयाँ ढंगले तय गर्नुपर्ने उहाँले बताउनुभयो ।

समृद्धि हासिल गर्न आवश्यक स्रोत कहाँबाट जुटाउने भन्ने प्रश्नसमेत सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै मन्त्री खनालले पछिल्लो विपद्ले नेपाललाई सामूहिक रूपमा आफ्नो विकास अवधारणा, प्राथमिकता र लगानीको दिशामाथि पुनःचिन्तन गर्न बाध्य बनाएको बताउनुभयो ।