हङकङ। विश्वका वित्तीय केन्द्रहरूको सूचकाङ्कमा हङकङले तेस्रो स्थान कायम राख्दै एसिया–प्रशान्त क्षेत्रमा पहिलो स्थान हासिल गरेको छ।
बेलायती थिङ्क ट्याङ्क ‘जेड÷येन ग्रुप’ र चीनको शेन्जेनस्थित ‘चाइना डेभलपमेन्ट इन्स्टिच्युट’ले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स (जीएफसीआई) ४०’ प्रतिवेदनमा विश्वका ११७ वित्तीय केन्द्रको मूल्याङ्कन गरिएको छ । प्रतिवेदनअनुसार हङकङले ७५६ अङ्क प्राप्त गरेको छ।
फिनटेक सेवाको क्षेत्रमा हङकङ विश्वमै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासमा पनि हङकङ पहिलो स्थानमा उक्लिएको प्रतिवेदनमा उल्लेख छ। मानव पुँजीको क्षेत्रमा दोस्रो स्थान कायम राखेको हङकङ व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा पुगेको छ।
विभिन्न वित्तीय क्षेत्रका विज्ञ तथा व्यवसायीले गरेको मूल्याङ्कनमा हङकङले लगानी व्यवस्थापन क्षेत्रमा विश्वमै पहिलो स्थान हासिल गरेको छ। बीमा र वित्तीय क्षेत्रमा पनि हङकङले विश्वव्यापी रूपमा शीर्ष स्थान कायम राखेको प्रतिवेदनमा उल्लेख छ।
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रवक्ताका अनुसार हङकङले विद्यमान वित्तीय सुविधाको विस्तार गर्दै स्थिरतामार्फत विकास र विकासमार्फत स्थिरता सुदृढ गर्ने नीतिलाई निरन्तरता दिनेछ। वित्तीय क्षेत्रको प्रभाव र लाभ विस्तार गर्न ‘फाइनान्स प्लस’ अवधारणालाई पनि अघि बढाइने उहाँले बताउनुभयो ।
विश्वव्यापी अफशोर रेन्मिन्बी (आरएमबी) व्यापार केन्द्रका रूपमा हङकङले आफ्ना सबल पक्षको उपयोग गर्दै चीनको राष्ट्रिय विकास रणनीतिसँग समन्वय गर्ने र अफशोर आरएमबीको उपयोग विस्तार गर्ने उपायलाई प्रवर्द्धन गर्ने प्रवक्ताले बताउनुभयो ।
जीएफसीआई प्रतिवेदन सन् २००७ देखि हरेक वर्ष मार्च र सेप्टेम्बरमा सार्वजनिक हुँदै आएको छ। (रासस/सिन्ह्वा)









