काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेलाई तत्काल न्याय दिन सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद खतिवडाले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू न्यायका लागि सरकारको ढोका ढकढक्याइरहेको भए पनि सरकारले उनीहरूको पीडाप्रति गम्भीरता नदेखाएको आरोप लगाउनुभयो ।
उहाँले शहीदको बलिदानबाट आएको परिवर्तनको नेतृत्व गरिरहेको सरकारले शहीद परिवारको पीडा र उनीहरूका प्रश्नलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “प्रधानमन्त्रीज्यू शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ । तर ती शहीदका परिवारको पीडा सुन्न समय किन भएन ?” भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सांसद खतिवडाले शहीदका परिवार र घाइतेको मुख्य माग न्याय भएको भन्दै सरकारले स्पष्ट जवाफसहित ठोस रूपमा कार्यान्वयन अघि बढाउनुपर्ने बताउनुभयो । साथै, जेलमा रहेका जेन–जी आन्दोलनकारीलाई तत्काल रिहा गर्न पनि उहाँले माग गर्नुभयो ।
उहाँले जेन–जी आन्दोलनले देशमा परिवर्तन ल्याएको उल्लेख गर्दै आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनालाई हरेक वर्ष औपचारिक रूपमा आँसु झार्ने र फूलमाला चढाउने दिनमा मात्र सीमित गर्न नहुने बताउनुभयो ।
“हरेक वर्ष २३ भदौलाई आँशु झार्ने र फुलमाला चढाउने दिन मात्र नबनाइयोस्,” उहाँले भन्नुभयो । सांसद खतिवडाले शहीद परिवार र घाइतेले न्याय पाउने सुनिश्चितताका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो।









