१ आश्विन २०८३, बिहीबार
,
Latest
खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताउनुभयो ।

गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकामा साउनमा त्यो सङ्ख्या बढेर एक हजार २४७ पुगेको थियो । भदौ लागेयता ३८२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २२८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिनुभयो । त्यस मध्ये सबैभन्दा बढी बागलुङमा १७० जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जा चार, तनहुँ तीन र लमजुङमा दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ”, निर्देशक मिश्रले भन्नुभयो, “जोखिम भने कायमै रहेकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ ।” प्रदेशभरिमा बागलुङ नगरपालिका डेङ्गुबाट सबैभन्दा बढी प्रभावित भएको उहाँको भनाइ छ ।

पछिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका २२८ मध्ये ५७ जना त्यस नगरपालिकामा रहेका छन् । बागलुङपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहमा सङ्क्रमण बढी देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गु सङ्क्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गुले प्रकोपको रुप लिने उहाँको भनाइ छ । डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । डेङ्गु नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ ।

डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रममा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने चिकित्सकको सुझाव छ । उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उहाँहरु बताउनुहुन्छ ।

डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गरेको केन्द्रका निर्देशक मिश्रले बताउनुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र यसले दिनमा मात्र टोक्ने बताइएको छ ।




भर्खरै