काठमाडौं । उदयपुरगढी गाउँपालिका–७ अधेरीमा ट्रक र यात्रुबाहक हायस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।
बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको हायस एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको जनाएको छ ।
दुर्घटनामा हायस चालक र सहचालकसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा काठमाडौं चन्द्रागिरि–१४ की इन्दिरा श्रेष्ठ, मोरङ सुन्दरहरैँचा–७ की पवित्रा भट्टराई, काठमाडौं चन्द्रागिरि–१४ की रुकमाया श्रेष्ठ र पविना श्रेष्ठ, मोरङ कानेपोखरी–६ का लबिन चौलागाईं, हायसका सहचालक देवराज विक र चालक रामबहादुर विक रहेका छन् ।
त्यस्तै बाँके नेपालगञ्ज–३ की लक्ष्मी गिरी, उदयपुर त्रियुगा–३ की रस्मिला दाहाल, मोरङ सुन्दरहरैँचा–६ की जमुना राई र एदुचन्द्र राई, इलाम जोगमाई–१ का सगुन गुरुङ, उदयपुर बेलका–६ का डम्बरबहादुर विक र सुदीप राई, सिन्धुली कमलामाई–१ की सानु थापा तथा काठमाडौं बूढानीलकण्ठ–५ की शान्ति न्यारिका घाइते भएका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।









