काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न सरकारसँग माग गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले बाढी, पहिरो, भूक्षय तथा नदी कटानजस्ता घटनालाई ‘दैवी प्रकोप’का रूपमा परिभाषित गर्नु उपयुक्त नभएको बताए।
उनले रसुवाको भोटेकोशीमा आएको बाढीलाई पनि दैवी प्रकोप भन्न नमिल्ने धारणा राख्दै यस्ता घटना प्राकृतिक वा मानव सिर्जित कारणबाट हुने विपद्का रूपमा बुझ्नुपर्ने बताए।
सांसद खरेलका अनुसार नेपालमा हुने अधिकांश बाढी, पहिरो र कटानका घटनामा प्राविधिक कमजोरी, वातावरणीय विनाश तथा अव्यवस्थित विकास निर्माणजस्ता कारण जोडिएका हुन्छन्। यस्ता घटनालाई ‘दैवी प्रकोप’को संज्ञा दिँदा विपद्का कारण र त्यसप्रतिको राज्यको जिम्मेवारीबाट पन्छिने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ थियो।
उनले विगतमा भएका र आगामी दिनमा आउन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि राज्यले घटनाको वास्तविक कारण पहिचान गरी सोहीअनुसार पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापनाको नीति बनाउनुपर्नेमा जोड दिए।
‘दैवी प्रकोप’ भन्ने शब्दको सट्टा ‘प्राकृतिक विपत्ति’ वा ‘विपद्’ भन्ने शब्द प्रयोग गर्नुपर्ने उल्लेख गर्दै खरेलले राहत तथा उद्धारसम्बन्धी सरकारी संरचनाको नामसमेत समयानुकूल परिवर्तन गर्नुपर्ने बताए।









