३० भाद्र २०८३, मंगलवार
,
Latest
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु काङ्ग्रेसको प्रतिनिधि छनोटमा आदिवासी जनजातिलाई उच्च प्राथमिकता, नयाँ कोटा थप ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ… नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा गरेको घोषणाअनुसार पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनका लागि नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीले भदौ महिनाभित्र कृष्णभीरमा सडक सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको थियो ।

पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि उक्त खण्डमा परीक्षणका रूपमा यातायात सञ्चालन हुँदै आएको छ । आगामी असोज १ गते बिहीबारदेखि भने कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर स्थलगत रूपमा खटिँदै आउनुभएको छ ।

भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि उक्त सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि विज्ञहरूले कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारेका थिए ।

विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी नयाँ ट्रयाक निर्माणको काम थालिएको थियो । त्यस क्रममा करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड काटेर ट्रयाक निर्माण गरिएको हो ।

नयाँ ट्रयाक निर्माणमा प्राविधिकसहित करिब ५० जना जनशक्ति परिचालन गरिएको थियो । उनीहरूले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि काम सुरु भएको १०औँ दिनमै, अर्थात् भदौ २८ गतेदेखि, ग्यास बुलेटलगायत केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गर्न सम्भव भएको मन्त्रालयले जनाएको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक सवारीसाधन आवतजावत हुँदै आएको छ ।

हाल कृष्णभीरमा सडक ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । त्यसपछि असोज १ गते बिहानदेखि सडकमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिनेछ।