काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा गरेको घोषणाअनुसार पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनका लागि नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीले भदौ महिनाभित्र कृष्णभीरमा सडक सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको थियो ।
पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि उक्त खण्डमा परीक्षणका रूपमा यातायात सञ्चालन हुँदै आएको छ । आगामी असोज १ गते बिहीबारदेखि भने कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर स्थलगत रूपमा खटिँदै आउनुभएको छ ।
भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि उक्त सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि विज्ञहरूले कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारेका थिए ।
विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी नयाँ ट्रयाक निर्माणको काम थालिएको थियो । त्यस क्रममा करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड काटेर ट्रयाक निर्माण गरिएको हो ।
नयाँ ट्रयाक निर्माणमा प्राविधिकसहित करिब ५० जना जनशक्ति परिचालन गरिएको थियो । उनीहरूले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि काम सुरु भएको १०औँ दिनमै, अर्थात् भदौ २८ गतेदेखि, ग्यास बुलेटलगायत केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गर्न सम्भव भएको मन्त्रालयले जनाएको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक सवारीसाधन आवतजावत हुँदै आएको छ ।
हाल कृष्णभीरमा सडक ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । त्यसपछि असोज १ गते बिहानदेखि सडकमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिनेछ।









