३० भाद्र २०८३, मंगलवार
,
Latest
चाडपर्वमा अत्यावश्यक सामान ढुवानीम सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ पहिचान भइसकेका शव तत्काल परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग संक्रामक पशुरोग नियन्त्रण विधेयक संशोधनसहित सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह ‘दैवी प्रकोप’ शब्द हटाएर ‘विपद् राहत कोष’ बनाउन रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्न काठमाडौं महानगरको प्रस्ताव



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा सञ्चालन भइरहेको रात्रिकालीन सार्वजनिक यातायात सेवा भक्तपुरसम्म विस्तार गर्न स्थानीय तहसँग साझेदारीको प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई रात्रिकालीन सार्वजनिक यातायात सेवामा साझेदारी गर्न आग्रह गर्नुभएको हो । उहाँले काठमाडौं र ललितपुरका स्थानीय तहको सहकार्यमा सञ्चालन भइरहेको सेवामा भक्तपुरका स्थानीय तहलाई समेत जोडेर उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन यातायात सञ्जालमा आबद्ध गर्नुपर्ने बताउनुभयो ।

महानगरपालिकाका अनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा साझा यातायातमार्फत रात्रिकालीन बस सेवा सञ्चालन भइरहेको छ । पछिल्लो समय काठमाडौं बाहिरका क्षेत्रमा समेत सेवा विस्तार गर्नुपर्ने माग बढेकाले भक्तपुरका स्थानीय तहसँग सहकार्यको पहल गरिएको डंगोलले बताउनुभयो ।

उहाँले रात्रिकालीन सार्वजनिक यातायात श्रमिक तथा मध्यम वर्गका नागरिकका लागि अत्यावश्यक रहेको बताउँदै सेवा सञ्चालनमा प्रारम्भिक चरणमा केही आर्थिक घाटा देखिए पनि त्यसलाई स्थानीय तहबीचको वित्तीय साझेदारीबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

डंगोलले रात्रिकालीन यातायात सेवा सञ्चालन हुने सबै स्थानीय तहले लागत साझेदारी र संयुक्त स्वामित्वको अवधारणामा अघि बढेमा कुनै एउटा पालिकामाथि मात्रै आर्थिक भार नपर्ने बताउनुभयो । सेवा दिगो बनाउन सके यात्रुको संख्या बढ्ने र सार्वजनिक यातायातको पहुँचसमेत विस्तार हुने उहाँको भनाइ छ ।

“हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । एउटा पालिकालाई अर्को पालिकासँग जोड्ने अन्तरपालिका यातायात पनि उत्तिकै महत्वपूर्ण छ,” डंगोलले भन्नुभयो, “राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू कम हुँदै जाँदा काठमाडौंमा काम गर्ने तर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरिलगायत क्षेत्रमा बस्ने श्रमिकले घर फर्कन समस्या भोगिरहेका छन् ।”

राइड सेयरिङ सेवा उपलब्ध भए पनि तुलनात्मक रूपमा महँगो हुने भएकाले सार्वजनिक यातायातको पहुँच सुनिश्चित गर्न रात्रिकालीन सेवा आवश्यक रहेको उहाँले बताउनुभयो ।

डंगोलले एउटै स्थानीय तहले मात्रै सेवा सञ्चालन गर्नेभन्दा सम्बन्धित सबै स्थानीय तहको संयुक्त स्वामित्व र लागत साझेदारीमा सेवा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले रात्रिकालीन बस सञ्चालन हुने रुटसँग प्रत्यक्ष रूपमा जोडिएका काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायकलगायत स्थानीय तहले लागत साझेदारी गर्न सक्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाको प्रस्तावप्रति भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले सकारात्मक प्रतिक्रिया दिँदै साझेदारीका लागि इच्छुक रहेको जनाएका छन् ।

यसैबीच, आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बसमार्फत ६ वटा नयाँ रुटमा सेवा विस्तार गर्ने तयारी गरिएको छ । उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी सेवा विस्तार गर्न लागिएको हो ।

प्रस्तावित रुटअनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमसम्म ४ वटा तथा चक्रपथमा दुईतर्फी सञ्चालन हुने गरी ८ वटा बस परिचालन गरिनेछ ।

चक्रपथमा रात्रिकालीन यातायात सेवा सञ्चालन भएपछि एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिने व्यवस्था मिलाइने महानगरले जनाएको छ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्नेछ ।




भर्खरै