३० भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीमा १ हजार ३९९ शव फेला, अझै ४ हजार ८९ जना बेपत्ता



अ+ अ-

काठमाडौं । रसुवा बाढीमा परी हराइरहेकामध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला तथा ५१९ वटा आंशिक अङ्ग छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि अझै चार हजार ८९ जना बेपत्ता छन् । बेपत्तामध्ये दुई हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला रहेका छन् ।

बाढीमा परी घाइते भएका नौ हजार २८७ जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ ।

पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका शवबाट एक हजार २८६ तथा बेपत्ता व्यक्तिका आफन्तबाट एक हजार ८८९ डीएनए नमुना सङ्कलन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल तीन हजार ४४० जना रहेको प्रहरीले जनाएको छ ।