काठमाडौं, भदौ २६ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि चीन सरकारले नेपाललाई उपलब्ध गराएका भारी क्षमताका ड्रोन परिचालन गरिएको छ । सडक तथा पुलहरू बाढी र पहिरोले क्षतिग्रस्त भई पुग्न कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोन प्रयोग गर्न थालिएको हो ।
चीन सरकारले हालै नेपाललाई उपलब्ध गराएका DJI FlyCart 100 ड्रोन नेपालमा उद्धार तथा राहत कार्यमा प्रयोग भइरहेका छन् । यी ड्रोनमा करिब ९८ फिट लामो डोरी र विन्च प्रणाली जडान गरिएको छ, जसबाट भारी सामग्री ओसारपसार गर्नुका साथै आवश्यक अवस्थामा सामान उठाउने तथा झार्ने काम गर्न सकिन्छ ।
चिनियाँ ड्रोन निर्माता कम्पनी DJI का अनुसार FlyCart 100 ले ब्याट्रीको संयोजन र मौसमको अवस्थाअनुसार अधिकतम ८५ देखि १०० किलोग्रामसम्म भार बोक्न सक्छ । चिनियाँ दूतावासका अनुसार नेपालमा परिचालित चारवटा कार्गो ड्रोनले दुर्गम तथा सडक पहुँच नभएका क्षेत्रमा आवश्यक राहत सामग्री छिटो र लक्षित रूपमा पुर्याइरहेका छन् । दुईवटा ब्याट्री प्रयोग गर्दा यसको अधिकतम भारवहन क्षमता ८५ किलोग्राम रहेको दूतावासले जनाएको छ ।
भोटेकोशी बाढीले नदी आसपासका सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । यातायात सम्पर्क विच्छेद भएका कतिपय स्थानमा स्थलमार्गबाट पुग्न कठिन भएपछि राहत तथा उद्धारका लागि हवाई साधनको प्रयोग महत्वपूर्ण बनेको छ ।
नेपाल सेनाले नेपाली तथा चिनियाँ प्राविधिक टोलीको सहयोगमा यी ड्रोन सञ्चालन गरिरहेको छ । नेपाल सेनासँग आबद्ध ड्रोन पाइलट अनिल प्रधानका अनुसार ड्रोनले ८५ किलोग्रामसम्मको भार बोक्न सक्छ ।
“हामी प्रधानमन्त्री कार्यालयबाट यहाँ आएका हौँ । ड्रोनले ८५ किलोसम्मको भार बोक्न सक्छ । भोटेकोशी–त्रिशूली नदी पारि सामान पुर्याउन यो निकै उपयोगी भएको छ,” प्रधानले भने, “उडानअघि उचाइ, दूरी र अल्टिच्युडलगायत प्राविधिक विषय मिलाउँछौँ । नेपाल सेनासँगको समन्वय र हेलिकप्टरको उडानलाई ध्यानमा राखेर सुरक्षित रूपमा सञ्चालन गरिरहेका छौँ । दिनमा करिब ३० पटकसम्म उडान गर्छौँ ।”
सडक र पुलहरू भत्किएका तथा हेलिकप्टरहरू खोज तथा उद्धारमा व्यस्त रहेका अवस्थामा ड्रोनमार्फत खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको छ ।
भदौ १० गते नेपाल–तिब्बत सीमा नजिक भएको हिमताल विस्फोटजन्य बाढीपछि भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । उद्धार तथा खोजी कार्य अझै जारी रहेको अवस्थामा भारी क्षमताका ड्रोनले दुर्गम क्षेत्रमा राहत पुर्याउने वैकल्पिक माध्यमका रूपमा काम गरिरहेका छन् ।
चीनबाट प्राप्त ड्रोनसहित अन्य उद्धार उपकरण र राहत सामग्रीले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याइरहेका छन् ।









