काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी)को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत आर्थिक रूपमा विपन्न बिरामीको एक हजारवटा ‘मेजर अप्रेसन’ निःशुल्क गर्ने घोषणा गर्नुभएको हो । उहाँले आर्थिक अभावकै कारण गम्भीर रोगको उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरूले यस्तो पहल गर्न लागेको बताउनुभयो ।
नेता शर्माले मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको प्याकेजसमेत ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । छात्रवृत्तिका विषयमा सम्बन्धित पक्षसँग छलफल गरेर थप जानकारी सार्वजनिक गर्ने उहाँको भनाइ छ ।
उहाँले स्वर्गीय कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न खेलेको भूमिकालाई नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेता शर्माले आफूले समेत गिरिजाप्रसाद कोइरालाकै हातबाट नेपाली कांग्रेसको साधारण सदस्यता लिएको स्मरण गर्दै फाउन्डेसनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । कांग्रेस सभापति गगनकुमार थापासँग समन्वय गरेर फाउन्डेसनका गतिविधिलाई कांग्रेस, नेपाली जनता र गिरिजाप्रसाद कोइरालाको योगदानसँग जोड्दै अघि बढाउने उहाँको भनाइ थियो ।
उहाँले पार्टीभित्र देखिएका विवाद समाधान गरी कांग्रेस नागरिकका वास्तविक मुद्दामा केन्द्रित हुनुपर्नेमा समेत जोड दिनुभयो । पार्टीभित्रको आन्तरिक विवादलाई लामो समयसम्म कायम राख्नुभन्दा जनताका समस्या समाधान र मुलुकको समृद्धिका विषयलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।









