२६ भाद्र २०८३, शुक्रबार
,
Latest
चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर,जग्गाजमिन,व्यापार–व्यवसाय बग्यो, तर ऋण बगेन



अ+ अ-

नेपालमा यसअघि कहिल्यै महसुस नगरेको किसिमको घटना हो यो। बाढीबाट भएको मानवीय क्षति, पूर्वाधारको विनाश र त्यसले पारेको प्रभाव हेर्दा यो एउटा वा दुईवटा जिल्लामा सीमित रहेन। देशका ७७ वटै जिल्लाका नागरिक कुनै न कुनै रूपमा प्रभावित भएका छन्। नेपाली मात्र होइन, विदेशी नागरिकसमेत प्रभावित भएका छन्। यति ठूलो मानवीय र भौतिक क्षति भएको महाप्रलय नेपालमा पहिलोपटक भएको र विश्वमै पनि अत्यन्त असाधारण घटना भएको महसुस भएको छ।

ठूलो बजेट पास भएको छ, तर अहिले यहाँ सबै कुरा तहसनहस भएको अवस्था छ। विदुर नगरपालिकाका १३ वडामध्ये १० वटा वडा प्रभावित भएका छन्। तीमध्ये दुईवटा वडा आंशिक रूपमा प्रभावित छन् भने आठवटा वडामा करिब ८० प्रतिशतसम्म क्षति भएको छ। जम्मा तीनवटा वडा मात्रै तुलनात्मक रूपमा सुरक्षित रहेका छन्। त्यसैले अहिले हाम्रो भूगोल नै कोल्याप्स भएको अवस्था छ।

विशेषगरी व्यापारिक क्षेत्र र प्रमुख बजारहरू तहसनहस भएका छन्। बेत्रावती हाम्रो ऐतिहासिक बजार हो। त्यसैगरी साल्मे बजार, त्रिशूली बजार, देवीघाट बजारलगायतका क्षेत्र प्रभावित भएका छन्।

व्यावसायिक क्षेत्रको हानि–नोक्सानीसँगै सर्वसाधारण पनि ठूलो संख्यामा प्रभावित भएका छन्। त्यसैले हामीले कर तथा भ्याटमा राहत दिनुपर्ने र बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋणमा पनि सहुलियत दिनुपर्ने विषयमा मन्त्रीज्यूहरूसँग कुरा गरेका छौँ। घर बग्यो, जग्गाजमिन बग्यो, व्यापार–व्यवसाय बग्यो, तर ऋण बगेन भन्ने अवस्था छ। त्यसैले ऋणमा पनि राहत आवश्यक छ। मन्त्रीज्यूहरू यस विषयमा सकारात्मक हुनुहुन्छ।

स्थानीय सरकारको हिसाबले म यहाँका सबै नागरिकको अभिभावक पनि हुँ। त्यसैले मेरो बलबुताले भ्याएसम्म, पालिकाको क्षमताले भ्याएसम्म र व्यक्तिगत रूपमा पनि जनताको राहतमा केन्द्रित हुनेछु।

हामीले पहिलो चरणमा उद्धारमा ध्यान दियौँ। त्यसपछि राहत वितरणमा गयौँ र अहिले पनि राहतको काम जारी छ। साथै, मानवीय क्षतिको व्यवस्थापनको काम पनि भइरहेको छ। अहिले करिब २० वटा सेल्टरमा दुईदेखि तीन हजारको संख्यामा पीडितहरू बसिरहेका छन्।

यत्रो प्रलयपछि अर्को ठूलो चुनौती महामारी र रोगको जोखिम हो। कुनै रोग फैलियो भने निकै छिटो फैलिन सक्ने अवस्था छ। त्रिशूलीपारिको स्वास्थ्य केन्द्र तथा त्रिशूली अस्पतालसँग हाम्रो सडक सम्पर्कसमेत टुटेको छ। रोग फैलिएको अवस्थामा ठूलो संख्यामा नागरिकलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ। बाटोमा पहिरो गइरहेको छ, पानी परिरहेको छ। त्यसैले स्वास्थ्य सुरक्षालाई पनि उच्च प्राथमिकतामा राख्नुपर्छ।

यसैलाई ध्यानमा राखेर विदुर नगरपालिकाले राहतको एउटा प्याकेज घोषणा गरेको छ। चार सदस्यीय परिवारलाई आधार मानेर आवश्यक सामग्रीको व्यवस्थापन गर्ने योजना बनाएका छौँ।

यसअन्तर्गत ग्यास चुलो र ग्याससहितको सिलिन्डर, दुईवटा सामान्य खाट र दुईवटा लो बेड, एउटा दराज, बेडिङका सामग्री तथा डाडु, पन्यु, कराई, प्रेसर कुकरलगायतका किचेन सामग्री उपलब्ध गराइनेछ।

त्यसैगरी, छ महिनासम्म खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छौँ। प्रत्येक परिवारलाई कम्तीमा १० हजार रुपैयाँ राहत उपलब्ध गराउने योजना पनि छ। होल्डिङ सेन्टरबाट ‘सेन्टर टु रुम’ अवधारणाअन्तर्गत यो रकम उपलब्ध गराउनेछौँ। १० हजार रुपैयाँले अहिले कोठा पाउन पर्याप्त नहोला, तर कम्तीमा एक–दुई महिना बस्न केही सहयोग पुग्छ। त्यसैले आगामी ६–७ महिनासम्म घरभाडामा समेत सहयोग गर्न हामीले अपिल गरेका छौँ।

तर छ महिनापछि पनि पीडितलाई अस्थायी होल्डिङ सेन्टरमै राखेर हुँदैन। त्यसैले स्थायी पुनःस्थापना आवश्यक छ। यसका लागि वैकल्पिक जमिनको खोजी, स्थायी बस्ती पुनःस्थापना, रोजगारी सिर्जना तथा जीविकोपार्जनका आधार तयार गर्ने विषयमा हामी केन्द्रित हुनुपर्छ र हुनेछौँ।

विभिन्न संस्थाबाट पनि सहयोगको प्रतिबद्धता आएको छ। एउटा अमेरिकी फाउन्डेसनले दुई–तीन करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी सन्तु सापकोटा नामका एक व्यक्तिले पनि सहयोग गर्ने बताउनुभएको छ।

ग्यास चुलो र सिलिन्डरका लागि हामीले कोटेसन लिइरहेका छौँ। दराज र बेडका लागि पनि कोटेसन संकलन भइरहेको छ। खाद्यान्न तथा किचेन सेट भने विभिन्न दाताबाट प्राप्त भइरहेका छन्।

नगरपालिका संघसँग पनि यस विषयमा कुरा भएको छ। नेपालभर २९३ वटा नगरपालिका छन्। ती नगरपालिकाले आफ्नो क्षमताअनुसार कम्तीमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने हो भने पनि ठूलो रकम संकलन हुन सक्छ। त्यसका लागि पनि हामीले पहल गरिरहेका छौँ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसंग गरिएको कुराकानीमा आधारित