काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट हालसम्म १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
भोटेकोशी बाढीपछि सरकारले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो।
सरकारले कोषमा जम्मा भएको रकम बाढी प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा आवश्यकताअनुसार पुनर्निर्माणमा उपयोग गर्ने जनाएको छ।









