काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीतिक कार्यक्रम नरहेको भन्दै चर्को आलोचना गर्नुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले सरकारले पाँच वर्षमा के गर्ने र सुरुवाती दुई वर्षमा कुन–कुन काम गर्ने भन्ने स्पष्ट कार्ययोजना दिन नसकेको आरोप लगाउनुभयो ।
सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिएर कर्मचारी तथा विगत ३५ वर्षको शासन व्यवस्थालाई दोष दिइरहेको उहाँको आरोप थियो । सरकार राज्य सञ्चालनको ठोस योजनाभन्दा सामाजिक सञ्जालमा स्टाटस लेख्ने र एकअर्कालाई गाली गर्ने काममा केन्द्रित भएको उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार आफैंलाई कहाँ जाने भन्ने पनि थाहा छैन । राज्य सञ्चालन कसरी गर्ने भन्ने पनि थाहा छैन । कानून पनि पढेका छैनन्, संविधान पनि पढेका छैनन् । दोष कर्मचारीलाई दिन्छन् । दोष विगतको ३५ वर्षलाई दिन्छन् । यिनीहरूसँग न कुनै दर्शन छ, न कुनै राजनीतिक ज्ञान छ ।’
सांसद बिष्टले सरकारसँग पाँच वर्षमा गर्ने कामको कुनै स्पष्ट कार्यक्रम नरहेको दाबी गर्नुभयो । ‘सरकारले पाँच वर्षमा के गर्ने हो ? सुरुवाती दुई वर्षमा के गर्ने हो भन्ने कुनै कार्यक्रम पनि छैन,’ उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालमा न्याय माग्ने नागरिकमाथि गालीगलौज भइरहेको भन्दै उहाँले त्यसप्रति पनि आपत्ति जनाउनुभयो । यस्तो गतिविधिमा प्रधानमन्त्री कार्यालयबाटै सञ्जाल परिचालन भइरहेको आरोपसमेत उहाँले लगाउनुभयो ।
‘सरकारको कार्यक्रम के मात्र छ भने स्टाटस लेख्ने, एकअर्कालाई गाली गर्ने मात्रै छ । नागरिकले न्याय माग्दा समेत हेर्नै नसकिने गरी गालीको वर्षा भइरहेको छ,’ उहाँले भन्नुभयो ।
सत्तारुढ दलका नेताहरूले नै विगतमा गाली गर्ने र ‘सिंहदरबार जलाउने’ संस्कार सिकाएको आरोप लगाउँदै सांसद बिष्टले अहिले त्यस्ता गतिविधि नगर्न आग्रह गर्दा नागरिकले नमान्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
‘सत्ताधारी पार्टीको सभापतिज्यूले हिजो कारबाही गर्छौँ भनेर त भन्नुभयो । तर प्रधानमन्त्रीको कार्यालयबाट यी नेटवर्कहरू चलिरहेका छन् । गाली गर्न र सिंहदरबार जलाउने संस्कार सिकाएपछि अहिले गाली नगर भन्दा मान्छन् त ?’ उहाँले प्रश्न गर्नुभयो ।









