तनहुँ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ ।
वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत् सुविधा नपुगेका तथा नयाँ बस्तीमा विद्युत् लाइन विस्तार गरिएको हो । नयाँ घरधुरीमा विद्युत् सेवा विस्तारसँगै वितरण केन्द्रअन्तर्गत विद्युत् ग्राहकको सङ्ख्या ८२ हजार २४९ पुगेको छ ।
दमौली कार्यालयअन्तर्गत २८ हजार ८२९, खैरेनीटार उपवितरण केन्द्रअन्तर्गत २७ हजार ४१७, डुम्रे शाखाअन्तर्गत १२ हजार १५६, आँबुखैरेनी शाखाअन्तर्गत पाँच हजार ९२०, थर्पु नोलाइटअन्तर्गत दुई हजार ६१५ र दुईपिप्ले नोलाइटअन्तर्गत पाँच हजार ३१२ ग्राहक रहेका छन् ।
तनहुँ वितरण केन्द्रले तनहुँ जिल्लाका १० वटै स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ । त्यसैगरी कास्की जिल्लाको रुपा गाउँपालिका–३ र ४ का केही भाग, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–१, २, ३, ४ र ५ तथा नवलपुर जिल्लाका बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा यस वितरण केन्द्रमार्फत विद्युत् सेवा प्रवाह हुँदै आएको इन्जिनियर आलेले बताउनुभयो ।
विद्युत् पहुँच विस्तारसँगै ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका घरधुरीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कामलाई निरन्तरता दिइएको वितरण केन्द्रले जनाएको छ ।
विद्युत् सेवा विस्तारले घरायसी प्रयोगसँगै कृषि, व्यवसाय तथा स्थानीय उत्पादनमूलक गतिविधिमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ । केन्द्रले आर्थिक वर्ष २०८२÷८३ मा ८७ करोड ७६ लाख १३ हजार ७८७ युनिट विद्युत बिक्री गरेको छ । उक्त युनिट विद्युत् बिक्रीबाट रु एक अर्ब एक करोड ११ लाख १२ हजार १२६ सङ्कलन भएको इन्जिनियर आलेले बताउनुभयो ।
वितरण केन्द्र अन्तर्गत छ वटा शवस्टेशन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, ४३२८ किलोमिटर ०.४÷०.२३ केभी वितरण लाइन, ६७३ वटा ट्रान्सफर्मर रहेका छन् ।
केन्द्रले ११÷०.४ केभीका लाइनहरुको विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा अपग्रेडिङ, ११÷०.४ केभीका आवश्यकताअनुसारका विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत आपूर्ति, नयाँ मिटर जडान तथा मिटर सिकायतसम्बन्धी कार्य गर्दै आएको छ ।









