जनकपुरधाम । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक तथा दलीय मतभेद त्यागेर सबै पक्ष एकजुट हुन आह्वान गर्नुभएको छ ।
जनकपुरमा आयोजित लायन्स क्लबको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै निधीले नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको र ४ हजार ९ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । मधेस प्रदेशमा मात्रै अझै १६२ जना सम्पर्कविहीन रहेको भन्दै उहाँले उनीहरूको अवस्था अज्ञात रहनु दुःखद र चिन्ताजनक भएको बताउनुभयो ।
निधीले रसुवाको नेत्रावती, ढुङ्गे बजारदेखि नुवाकोटका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो विनाश निम्त्याएको उल्लेख गर्नुभयो । यस्तो विपत्ति नेपालले यसअघि नबेहोरेको भन्दै उहाँले विपद् व्यवस्थापनका तीन प्रमुख चरण उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्ला ११ दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सीमित स्रोतसाधनका बाबजुद निरन्तर उद्धारमा खटिरहेको भन्दै सुरक्षा निकायको प्रशंसा गर्नुभयो । साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
‘हामीले अहिलेसम्म यति ठूलो विपत्ति व्यहोरेका थिएनौँ । यस्तो बेला जात, वर्ण, लिङ्ग, धर्म र राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ,’ निधीले भन्नुभयो, ‘अहिलेका तीन प्राथमिक काम उद्धार, राहत र पुनर्निर्माण हुन् । सबैभन्दा पहिलो प्राथमिकता उद्धार र मानवीय जीवन बचाउनु हो ।’
सम्पर्कविहीनको संख्या सुरुमा १९२ देखि २०० जनासम्म रहेकोमा ३० जना सम्पर्कमा आएको जानकारी दिँदै उहाँले अझै ठूलो संख्या सम्पर्कविहीन रहनु गम्भीर विषय भएको बताउनुभयो ।
निधीले बाढीपहिरोबाट जलविद्युत् क्षेत्रमा भएको क्षतिप्रति समेत चिन्ता व्यक्त गर्नुभयो । जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको ज्यान जानु तथा महत्वपूर्ण भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको उहाँको भनाइ थियो ।
––– न्युज एजेन्सी नेपाल









