७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

रेल चढ्ने रहर अझै अन्योलमा

रेल चढ्ने रहर अझै अन्योलमा
अ+ अ-

– गोपालप्रसाद बराल
महोत्तरी– ‘आब रेल चढ पैवाक बात चढब तभीए बतायब (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् ।

भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरको दूरीमा रेल चल्ने कुरा बर्षौँदेखि सुन्दै आएका यसक्षेत्रका सर्वसाधारणले कामभने गतिमा नबढेपछि निराश भएर यस्तो जवाफ फर्काउने गरेका हुन् ।
‘बर्दिवासके वात छोइड दिय, जयनगर स कुर्थातक त पटरी तयार भगेल अई’ (बर्दिवाससम्मको कुरा अहिले छोडिदिनोस्, जयनगरबाट कुर्थासम्मको त लिक तयार भइसकेको छ), भङ्गाहा–३ कटैयाका ६५ बर्षीय हरि यादवले निराशा पोख्दै भने, ‘पोरे साल रेल चलके वात छल, मुदा वातेमें रहीगेल’ (गत वर्ष नै रेल चल्ने (जयनगरदेखि कुर्थासम्म) कुरा थियो, कुरोमै सिमित रह्यो) ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सन् २०१४ मा शुरु भएको रेल स्तरोन्नति र सेवा विस्तारको काम सन् २०२० भित्र जयनगरदेखि बर्दिवाससम्म नै सञ्चालनमा ल्याइसकिने रेल विभागले बताउँदै आएको थियो । पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) मा २०१८ भित्रै, दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहास्थित बिजलपुरा स्टेशनसम्म) मा सन् २०१९ को मार्चभित्र र तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) सन् २०२० भित्र रेल सञ्चालनमा आइसक्ने तालिका थियो । तर, त्यो तालिकाअनुसार काम नबढेपछि सर्वसाधारणमा रेल कहिले चल्न थाल्ने हो भन्ने कुरामा अन्यौलसँगै निराशा बढेको हो ।

जयनगरदेखि कुर्थासम्मको लिक ओछ्याएर परीक्षण पनि गत वर्षकै भदौमा गरिएपछि यस भेगका सर्वसाधारणमा दशैँ, तिहार र छठ पर्वको सेरोफेरोमा रेल चल्ने आस थियो । तर, रेल खरीद र सञ्चालन प्रक्रियामा भएको ढिलाइले हालसम्म पनि रेल चल्न नसकेपछि सर्वसाधारणले चाँडै रेल चढ्न पाउने आस मारेका हुन् । त्यसैगरि दोस्रो खण्ड (कुर्थादेखि भङ्गाहासम्म) को ग्रेवल ओछ्याउने, लिक ओछ्याउने काम थालिएकै छैन भने तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) मा अझै जग्गा मुआब्जा विवाद कायम नै रहेकाले यस खण्डमा काम थाल्न नै अन्योल देखिएको हो ।

यसबीचमा रेल खीरद र सञ्चालन प्रक्रिया टुङ्गिएर आवश्यक जनशक्ति पूर्ति गर्ने प्रक्रिया अघि बढेपछि यसपाली चाहिँ तिहारअघि पहिलो खण्डमा रेल सञ्चालन हुने रेल विभागले जनाएको छ । ‘लिक ओछ्याएर परीक्षणसमेत एक वर्ष पहिले नै भइसके पनि रेल खरीद र सञ्चालन प्रक्रिया नटुङ्गिदा ढिलाइ भयो’, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘अब ती प्रक्रिया सबै पूरा भएका छन्, जनशक्ति पूर्ति गर्ने प्रक्रिया पनि अघि बढ्यो, यसपालि भने पहिलोखण्ड (जयनगरदेखि धनुषाको कुर्थासम्म) मा तिहारसम्म रेल चल्छ ।’

भारतको जयनगरदेखि महोत्तरीको बर्दिवासम्मको ६९ किलोमिटरमध्ये महोत्तरीतर्फ ३३ किलोमिटर, धनुषामा ३४ किलोमिटर र भारततर्फ करिब दुई किलोमिटर पर्छ । पहिलो खण्डसँगै धनुषातर्फ अब काम हुन करीब दुई किलोमिटर र महोत्तरीको ३३ किमिसहित ३५ किलोमिटरमा काम बाँकी छ । महोत्तरीतर्फको भङ्गाहासम्म माटो सम्याउने, पुलपुलेसा बनाउने र स्टेशन घर निर्माणका काम अन्तिम चरणमा छन् । तर, ग्रेवल ओछ्याउने र लिक राख्ने मुख्य काम थालिएकै छैन । अहिलेको गतिले दोस्रो खण्डको काम सन् २०१९ भित्रै सकिनेमा रेल विभागका प्राविधिक नै पनि ढुक्क छैनन् । तर, महानिर्देशक मिश्र भने निर्माण सामग्री तयार भएको हुँदा दोस्रो खण्डको काम अब तीव्र गतिमा अघि बढ्ने बताउँछन् ।

यता भङ्गाहाबाट बर्दिवाससम्मको १८ किमी दूरीभित्र भने अझै मुआब्जा विवाद नसुल्झेपछि काम अघि बढ्न सकेको छैन । पछिल्लो पटक गत असारमा यस खण्डभित्रको भङ्गाहाभित्रको २२ बिघा र बर्दिवास–६ र ७ (साविक किसाननगर गाविस) को २६ बिघा क्षेफलको मुआब्जा दिइने रकम जिल्ला प्रशासन र रेल विभागले टुङ्ग्याए पनि आम सर्वसाधारणले भने मुआब्जा बुझ्न थालेका छैनन् । यसै खण्डको हाल मिथिला नगरपालिका–१० र ११ (साविक बेङ्गाडावर गाविस, धनुषा) को २६ बिघा र साविक बर्दिवास गाविस क्षेत्रको ५३ बिघा क्षेत्रफलको भने मुआब्जा तोकिन नै बाँकी छ ।

बेङ्गाडावर र बर्दिवासको मुआब्जा तोक्न भएको ढिलाइले निर्माण काम अघि बढाउन अझै सकिएको छैन । बर्दिवासका जग्गाधनीहरुले आपूmहरुले मुआब्जा तोक्ने कुरामा कुनै झिँजो वा अप्ठ्यारो नपारेको बताउँदै आएका छन् । ‘हाम्रो ठाउँमा रेल सेवा चल्ने कुरा छ, यसले हाम्रै ठाउँको विभिन्न सम्भावना बढाउने हो’, बर्दिवास–१४ का खड्गबहादुर सिंहले भने, ‘अहिले चलनमा रहेको मूल्य तोके त भइहाल्यो, हामीले कहाँ व्यवधान ग¥यौँ र ?’ पछिल्ला दिनमा बर्दिवासका जग्गाधनीले हल्ला मच्चाएर मुआब्जा तोक्न अप्ठ्यारो पारेको टिप्पणी सुन्नु पर्दा उल्टै दुःख लाग्ने गरेको सिंहको भनाइ छ ।

तेस्रो खण्डमा मुआब्जा तोक्न बाँकी रहेको र पहिलो खण्डमा चाँडै रेल चल्ने चर्चाबीच नै पहिलो खण्डभित्रैका रेल भवन चर्कँदै गएका छन् । पछिल्लो पटक निर्माणाधीन रहेको जनकपुरधामको रेल भवन चर्किन थालेको हो । भवन निर्माण गर्ने भारतीय कम्पनी इर्कोन इन्टरनेसनलले निर्माण गरिरहेको जनकपुरधामस्थित स्टेशन भवन प्रयोगमा आउनुपूर्व नै चर्किन थालेको हो । भवन निर्माणमा कमसल सामग्रीको प्रयोग भएको हुँदा भवन चर्केको भवन वरपरका सर्वसाधारण बताउँछन् । नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनीयर विनोदकुमार ओझाले पनि भवन चर्केको स्वीकार गरेका छन् । निर्माण कम्पनीलाई सचेत गराउँदा गराउँदै पनि उसले चासो नलिएको ओझाले बताए ।

भवन चर्केसँगै जनकपुरस्थित रेल्वे स्टेशनबाट रेल्वे ट्र्याक र स्लिपर जोडने क्लिप पनि चोरी भएका छन् । रेल्वे स्टेशनमा बनाइएको ट्रसको नटबोल्ट र रेल्वे स्टेशनमा बनाइएको खानेपानीको धारासमेत चोरी भएको साइट इञ्जिनीयर ओझाको भनाइ छ ।

भवन चर्कनु र स्टेशन भवनबाटै एकपछि अर्को सामान हराउँदै जानुमा रेल विभागको राम्रो अनुगमन र सुरक्षा प्रबन्ध हुन नसकेको सर्वसाधारणको टिप्पणी छ । तयार भइसकेको पहिलो खण्डमा तत्काल रेल सञ्चालन गर्न, दोस्रो खण्डको बाँकी काम शुरु गर्न र तेस्रो खण्डको मुआब्जा विवाद चाँडै टुङ्ग्याएर निर्माण काम थालिए जनतामा काम हुँदैछ भन्ने सकारात्मक सन्देश प्रवाह हुने महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदादेवी थापा बताउँछिन् ।

भारत सरकारको रु। सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । विसं १९९४ मा शुरु भएको बिजलपुरा–जनकपुर–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै रेल विभागले विसं २०७० मै रेल सेवा बन्द गराएपछि पछिल्लो छ वर्षयता रेल सेवा पूर्णरूपमा बन्द रहँदै आएको छ ।