२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्



अ+ अ-

कास्की। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो ।

आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा हुनुहुन्थ्यो ।

यही भदौ ९ गते साँझ ‘भिडियो कल’मार्फत किनेका कपडा देखाउँदै ‘यो कलर कस्तो छ’ भन्दै उहाँले परिवार र दिदीबहिनीसँग खुशी साट्नु भएको थियो ।

दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उहाँको त्यो सपना अब सँधैका लागि अधुरै रह्यो । टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन हुनुभयो । बाढीमा परेका उहाँको अवस्था त्यसयता अज्ञात छ ।

घटनापछि ज्यान जोगाएर फर्किन सफल उहाँका सहकर्मीका अनुसार अधिकारी बाढी आउनुअघि अन्य साथीसँगै कार्यालयकै काममा हुनुहुन्थ्यो । सोही बाढीमा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए ।

पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएर जानुभएका अधिकारी यसबीचमा दुई पटक घर आउनुभएको थियो । परिवारका सदस्य उहाँ फेरि सकुशल घर फर्किनुहुन्छ भन्ने आशामा बसे तर,उहाँको कुनै खबर आएन ।

बाढी आएको दिन बिहानसम्म अधिकारी परिवारसँग सम्पर्कमा हुनुहुन्थ्यो ।  त्यसपछि भने उहाँसँग परिवारको कुनै सम्पर्क हुन सकेन ।

परिवारले पटक–पटक उहाँको मोबाइलमा फोन ग¥यो । विभिन्न ठाउँमा बुझे र अस्पताल र शव राखिएका स्थानमा समेत खोजी गर्यो । सुरुमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुनसक्ने भन्दै परिवारले उहाँ सकुशल फर्किने आशा मारेको थिएन ।

बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको आशा समाप्त भयो । लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर शुक्रबार रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरेर काजकिरिया सुरु गरेको छ ।

छोरा विनय अधिकारीले बुबासँग बाढी आउनु दिनको विहानसम्म परिवारको सम्पर्क रहेपनि त्यसपछि कुराकानी हुन नसकेको बताउनुभयो ।

“बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ । तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन ।” उहाँले मलिन अनुहार र सुस्त आवाजमा भन्नुभयो ।

बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको विनयले बताउनुभयो । धादिङमा एउटा शवको तस्बिर  मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो । तर, प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो ।

“धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ,” विनयले भन्नुभयो, “तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो ।”

अधिकारीका छिमेकी र मिल्ने साथी रहनुभएका नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखिनै समावेशी टोलमा सन्नाटा छाएको बताउनुभयो ।

सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उहाँले बताउनुभयो । शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

“जागिरका क्रममा उहाँ टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो । टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो । कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो । साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,” बरालले दुःख व्यक्त गर्नुभयो ।

सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुन्थ्यो । समावेशी टोलको सहसचिवका रूपमा उहाँले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँको अर्को विशेष परिचय थियो मुरलीको मधुर धुन । विशेषगरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उहाँको कला टोलवासीका लागि अहिले सम्झना बनेको छ ।

छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउनुहुन्नथ्यो ।

“साथीभाइ जम्मा हुनेबित्तिकै उहाँ मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो । उहाँ घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ । अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ,” पाण्डेले भन्नुभयो ।

तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ । उहाँका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी हुनुहुन्छ ।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेका छन् । घटनामा परेर कुनै जानकारी नपाएकाका परिवारले अझै पनि आफ्ना प्रियजन आउने झिनो आसमा छन् ।

बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अन्यको अवस्था भने हालसम्म अज्ञात रहेको उहाँले जानकारी दिनुभयो । रासस

फोटो- रासस /एफपी