काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
पृथ्वी राजमार्गमा अवरोध भएपछि हेटौँडाबाट काठमाडौं आउने मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गराउने र काठमाडौंबाट खाली फर्किने सवारी साधनलाई कान्ति लोकपथ हुँदै हेटौँडा पठाउने व्यवस्था मिलाइएको छ । यसका कारण एकान्तकुना–टीकाभैरव–ठिङ्गन हुँदै हेटौँडा जोड्ने कान्ति लोकपथमा दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्न थालेका छन् ।
अत्यधिक सवारी चापसँगै निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी रहेकाले सडक सञ्चालन र सवारी व्यवस्थापनमा चुनौती थपिएको छ । कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर उपेन्द्र महराका अनुसार सडकलाई निरन्तर सञ्चालनमा राख्न जोखिमयुक्त विभिन्न खण्डमा जनशक्ति तथा उपकरण परिचालन गरिएको छ ।
टीकाभैरवदेखि तीनपानेसम्म तीनवटा ह्विल एक्स्काभेटर र एउटा ब्याकहो लोडर परिचालन गरिएको छ । तीनपानेदेखि टार्कुचे खण्डमा निर्माण व्यवसायीमार्फत आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ । यस्तै, टार्कुचेदेखि वागमती खोला (बगुवा) सम्मको जोखिमपूर्ण खण्डमा तीनवटा एक्स्काभेटर र दुईवटा लोडर तयारी अवस्थामा राखिएको छ ।
मकवानपुरतर्फ ठिङ्गनदेखि हेटौँडासम्मको सडक कालोपत्रे भइसकेकाले तुलनात्मक रूपमा सुरक्षित र आवागमन सहज रहेको इन्जिनियर महराले बताउनुभयो । यद्यपि, लेबडाँडा र सिमाद खोला आसपासमा वर्षाका बेला सामान्य अवरोध हुने गरेको उहाँको भनाइ छ ।
सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको टोली अहोरात्र परिचालन गरी सडक सञ्चालनमा राख्ने प्रयास भइरहेको छ ।
कान्ति लोकपथको विर्खेधारा खण्डमा पहिरो पन्छाइरहेका सब–कन्ट्रयाक्टर धनबहादुर लिम्बूका अनुसार वैशाखदेखि नै निरन्तर पहिरो खस्दा सडक निर्माण तथा सञ्चालनको काम प्रभावित हुँदै आएको छ । अहिले दुईवटा स्काभेटर र छवटा टिपर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सडक पूर्ण रूपमा अवरुद्ध हुन नदिन १०–१० मिनेटमा सवारी रोक्दै पहिरो पन्छाउने गरिएको छ । तर, पहिरोबाट निकालिएको माटो व्यवस्थापनका लागि उपयुक्त डम्पिङ साइटको अभाव तथा स्थानीय वन समिति र खानेपानी उपभोक्ताबाट हुने अवरोधका कारण काममा ढिलाइ भइरहेको लिम्बूले बताउनुभयो ।
निर्माण व्यवसायी राजकुमार बुढाथोकीका अनुसार बाढी र पहिरोको जोखिम बढेपछि कान्ति लोकपथको निर्माण कार्य हाल ठप्प भएको छ । निर्माणमा संलग्न करिब १५० मजदुर काम छाडेर बस्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
बगुवादेखि टीकाभैरवसम्मका छपेली, टार्कुचे र विर्खेधारालगायतका ठूला पहिरोका कारण सडक अझै जोखिमपूर्ण अवस्थामा रहेको उहाँको भनाइ छ ।
प्राविधिकहरूका अनुसार अहिलेको विपद्को अवस्थामा कान्ति लोकपथलाई पूर्ण रूपमा निर्माण सम्पन्न गर्नु भन्दा पनि तत्काल ‘सर्भिसेबल’ अर्थात् चलायमान अवस्थामा राख्नु मुख्य प्राथमिकता बनेको छ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म कान्ति लोकपथमा सवारी चाप उच्च नै रहने र त्यसपछि मात्रै रोकिएका निर्माण कार्यलाई गति दिन सकिने अवस्था रहेको बताइएको छ ।









