काठमाडाैँ । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ ।
शुक्रबार बिहान नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञसहितको संयुक्त टोलीले साहलाई सुरुङबाट जीवितै उद्धार गरेको थियो । उद्धारलगत्तै उनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्याइएको थियो । हाल उनी चिकित्सकको निगरानीमा छन् ।
साहको जीवितै उद्धार भएपछि परिवारजनमा खुसी छाएको उनका आफन्त देवकुमार साहले बताए । उनका अनुसार लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले साह फर्किने आशासमेत विस्तारै गुमाउँदै गएको थियो ।
‘सञ्जय साह मेरो बहिनी ज्वाइँ हुनुहुन्छ, हामी सरप्राइज नै भयौँ । यतिधेरै दिन भइसकेको थियो, विस्तारै उहाँ फर्किने आशा मर्दै गएको थियो । अहिले चमत्कारजस्तै भयो । उहाँको परिवारमा पनि खुसीको सीमा छैन,’ देवकुमारले भने ।
उनका अनुसार साहलाई भेट्न परिवारका सदस्यहरू काठमाडौं आउँदै छन् ।
यसैबीच, सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
–न्युज एजेन्सी नेपाल









