त्रिशूली–३ ‘ए’को सुरुङमा अझै मानिस फसेको हुनसक्ने उद्धार गरिएका सञ्जय साहको भनाइ
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहले सुरुङमा अझै मानिसहरू फसेको हुनसक्ने बताएका छन् ।
बाढी गएको १० दिनपछि शुक्रबार सुरुङबाट साह र आयोजनाका मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई जीवितै उद्धार गरिएको हो ।
उद्धारपछि साहले आफू आयोजनाको सेन्टर रुममा अपरेटरका रूपमा कार्यरत रहेको बताए । बाढी आउनुअघि नै दुर्घटनाको जोखिमबारे सहकर्मीहरूलाई जानकारी गराउँदै उनीहरूलाई बाहिर पठाउने क्रममा आफू सुरुङबाट निस्कन नसकेको साहले बताए ।
‘एक्सिडेन्ट भयो ड्याममा’ भन्दै आफूले सहकर्मीहरूलाई बाहिर जान भनेको र सबैलाई सुरक्षित स्थानतर्फ पठाउने क्रममा आफ्नो समय गएको उनले बताए । सबैलाई बाहिर पठाएपछि आफू भने निस्कन नसकेको उनको भनाइ छ ।
साहका अनुसार सामान्य अवस्थामा सेन्टर रुममा चार–पाँच जना रहने भए पनि घटनाका बेला आयोजनाभित्र करिब ४०–४५ जना रहेको हुनसक्छ ।
‘कन्ट्रोल रुममा म भएपछि सबैको ज्यान बचाउनु थियो । त्यत्रो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउनुपर्यो,’ उनले भने ।
सुरुङभित्र १० दिन बिताउँदा आफूले महामन्त्र जप गरेर बसेको पनि साहले बताए ।
उनले सुरुङको भित्री भागमा अझै मानिसहरू फसेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनका अनुसार उद्धार हुनुअघि आफूले नजिकै तीन–चार जना साथी रहेको थाहा पाएका थिए । तर, सुरुङभित्रको पावर हाउसतर्फ पनि मानिसहरू रहेको हुनसक्ने उनको भनाइ छ ।
‘हुनसक्छ होला । सबै भाग्न नसकेको हुनुपर्छ । टनेल लामो छ, पानीको फोर्सले भित्र लगिसकेको हुनुपर्छ,’ साहले भने ।








