काठमाडौँ। नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण सिर्जित हो वा मानव निर्मित दुर्घटना हो भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद्बाट उत्पन्न शोक र पीडालाई शक्तिमा बदल्न र भविष्यमा सम्भावित विपद्का घटना रोक्न भोटेकोशी बाढीको वैज्ञानिक र वस्तुगत निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमै संकट उत्पन्न गरिरहेको समेत बताउनु भयो ।
उहाँले विकसित देशहरूले उद्योग, यातायातलगायतका क्षेत्रमा अत्याधिक कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन भई वायुमण्डलीय तापक्रम अस्वाभाविक रूपमा बढेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले बढ्दो तापक्रम वृद्धिका कारण हिमालको हिउँ पग्लिँदा त्यसले भयावह बाढीपहिरो निम्त्याउने र मानव बस्तीको अस्तित्वमा समेत असर पार्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो प्रकृतिद्वारा सिजृत विध्वंश हो वा मानव निर्मित दुर्घटना ? यो शोक र पीडाको घडीमा यो प्रश्नको वस्तुनिष्ट विवेचना गर्न जरुरी छ । यसको वस्तुगत निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्दछौँ । सम्भावित दुर्घटना रोक्न वा त्यसबाट बच्न सक्दछौँ । सभामुख महोदय, विज्ञ तथा वैज्ञानकिहरुको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै संकट पैदा गरेको छ । विकसित देशहरुले उद्योग, यातायात तथा अन्य प्रयोजनको लागि अत्याधिक मात्रामा कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विशाक्त ग्यास उत्सर्जन गर्दछ । फलस्वरुप वायुमण्डलको तापक्रममा अस्वभाविक रुपमा वृद्धि हुन जान्छ । तापत्रमको वृद्धिले हिमालको हिउँ पग्लिन्छ जुन भयावह बाढीपहिरोमा परिणत हुन्छ । त्यसले मानव वस्तीको अस्तित्व नै मेटाउँछ, सभामुख महोदय उत्तरी तथा दक्षिणी धुर्वमा हिउँ पग्लिरहेका छन् । त्यसले एकप्रकारको सुनामी सृष्टि गरिरहेको छ ।’
उहाँले प्रधानमन्त्री शाहले आफ्नो शासन शैलीमा परिवर्तन गर्नुपर्ने तर्क समेत गर्नुभयो ।–न्युज एजेन्सी नेपाल









