काठमाडौँ। नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीबाट भएको विपद्को समयमा सरकार परिणाममुखी कामभन्दा प्रचारमा बढी केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भोटेकोशी र त्रिशूली नदीको बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विपद्को यस घडीमा नेपाली काँग्रेस सरकारको साथमा रहेको प्रस्ट पार्नुभयो ।
नेता आङ्देम्बेले उद्धार कार्यमा सरकारको गम्भीर लापरवाही देखिएको उल्लेख गर्नुभयो । विशेष गरी सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा भएको ढिलाइलाई उहाँले ‘अमानवीय’ संज्ञा दिनुभयो ।
सुरुङ उद्धारमा घटना भएको ७२ घण्टालाई ‘गोल्डेन आवर’ मानिने भएपनि सरकारले निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन ढिलाइ गर्दा थप मानवीय क्षति भएको उहाँको दाबी छ । उहाँले मन्त्रीहरू कार्यक्षेत्रमा पुगेर काम गर्नुभन्दा पनि प्रचारमुखी तस्बिर र भिडियो खिचाउन व्यस्त रहेको भन्दै आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका कमजोरीमा मौन बस्नु वा सबै खत माफ गर्नु होइन । जहाँ सरकार बाटो बिराउँछ, त्यहाँ हाम्रो खबरदारी र प्रश्न जारी रहन्छ । जसको परिवार सुरुङभित्र फसेको छ, उसलाई आफन्तको प्राणको चिन्ता छ, तर सरकारका प्रतिनिधिहरू फेसबुकमा फोटो पोस्ट गर्न व्यस्त देखिए ।’
विपद् व्यवस्थापनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन नसकेको उहाँले बताउनु भयो । स्थानीय तहलाई अधिकार र स्रोत साधन नदिई सङ्घीय सरकारले समानान्तर संरचनामार्फत काम गर्न खोज्दा राहत र उद्धार प्रभावित भएको उहाँको तर्क छ । राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय सरकारमार्फत नै पीडितको पहिचान र वितरण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विपद् व्यवस्थापन, राहत, पुनर्निर्माण र सरकारी कामको अनुगमनका लागि उहाँले ‘संसदीय उच्चस्तरीय विशेष समिति’ गठन गर्न सभामुखमार्फत माग गर्नुभएको छ । विपद्लाई राजनीति र दोषारोपणको विषय नबनाई राष्ट्रिय एकताका साथ सामना गर्नुपर्ने उहाँको धारणा छ । –न्युज एजेन्सी नेपाल









