गुल्मी। अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।
आज बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।
सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आआफ्नो गन्तव्यतिर लागिसकेका प्रहरीले जनाएको छ । उक्त कालीगण्डकी करिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जालअन्तर्गत पर्दछ । रासस









