१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए



अ+ अ-

काठमाडौँ : हालै आएको भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोट जिल्ला बढी प्रभावित बन्यो, धादिङ केही मात्रामा मात्र । सो बाढीमा परी यो समाचार तयार पार्दासम्म ९ सय भन्दा बढीको ज्यान गएको छ भने अरु चार हजारभन्दा बढी हराएको अवस्था छ ।

यस्तो अवस्थामा सञ्चारको अहम् भूमिका हुन्छ क्षति न्युनिकरण तथा पीडितलाई सहयोग र सान्त्वनाका लागि । तर, अवस्था त्यस्तो छैन किनभने मिडियाको सहयोग पीडित र स्थानीयले नपाएको गुनासो स्वयं उनीहरु नै गर्दछन् ।

यसै विषयमा प्रेस काउन्सिलले नुवाकोटको प्रभाावित क्षेत्र त्रिशुलीको स्थलगत अनुगमन गरेको छ । त्यसक्रममा पाइएको र स्थानीयले भनेका कुरालाई काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले नै आफ्नो फेसबुक पेजमा यसरी लेखेका छन् ।

“म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर जानुपर्ने भयो, किनभने त्यहाँ मेरो घर सफा गर्ने काम भइरहेको छ। वास्तवमा अहिले बोल्ने शब्द पनि मसँग छैन ।

जुन दिन म आफैँ पीडित भएँ, त्यो दिन मेरो सम्पत्ति सबै गयो। सम्पत्ति गयो, ठिकै छ, म फेरि उठ्न सक्छु, कमाउन सक्छु भन्ने लाग्छ। तर पत्रकारिता सुरु गरेदेखि अहिलेसम्म संकलन गरेका मेरा सबै डकुमेन्ट पनि बगे। त्यो सम्झिँदा चाहिँ मेरो मुटु भक्कानिन्छ ।

अर्को कुरा, मेरो जीवनमा समस्या एकपछि अर्को गर्दै आइरहेजस्तो भयो। म गम्भीर रोगले थलिएर भारतमा उपचार गरेर फर्किएको थिएँ। बल्ल अलिकति उठ्न सक्छु कि भन्ने अवस्थामा सडक विस्तारका कारण विस्थापित भएँ, घर भत्कियो । त्यसपछि सबै सामान लगेर कोठामा बसेको थिएँ। अहिले त्यो कोठाका सामान पनि सबै बग्यो ।

अब सम्पत्तिका नाममा मसँग त्यही बिहान बोकेर गएको एउटा झोला मात्रै छ। अरू केही छैन ।

मेरो जिम्मेवारीमा छ जनाको परिवार छ। पत्रकारिताकै माध्यमबाट मैले त्यो परिवार पालिरहेको थिएँ। मेरो एउटा सानो पसल पनि थियो, त्यसबाट पनि केही आम्दानी हुन्थ्यो ।

त्यो दिन बिहान म पिपलटारतिर गएको थिएँ। सुरुमा अर्को ठाउँ जाने भनेर निस्किएको थिएँ, तर त्रिशूलीको पुलमा पुगेपछि किन हो, आज उता नजाऊँ, पिपलटार जाऊँ भन्ने मनमा आयो। म पिपलटार पुगेको दुई मिनेट पनि भएको थिएन, काठमाडौँबा फोन गरेर भनिन्, “त्रिशूलीमा एकदम ठूलो बाढी आइरहेको छ रे, तँ कहाँ छस् ?”

फोन राख्नेबित्तिकै मैले तत्काल सिडिओलाई फोन गरेँ। फोन नउठेपछि एसपीलाई फोन गरेँ। उहाँले ठूलो बाढी आइरहेको र अब अरु कुरा जोगाउन सकिन्न, मुख्य कुरा मानवीय क्षति कम गराउनु हो भन्नुभयो ।

त्यो सूचना पाएपछि मैले तत्काल वडा अध्यक्षलाई फोन गरेर त्रिशूली किनारका बस्तीका मानिसलाई हटाउनुपर्छ भनेँ। त्रिशूली बजारतिर पनि फोन गरेर “तपाईंहरू त्यहाँबाट तुरुन्त भाग्नुस्” भनेँ। मेयरसाबलाई फोन गर्दा उहाँ बाटोमा काठमाडौंतिर जानुभएको रहेछ। मैले भनेँ, “यो अवस्थामा तपाईं काठमाडौं नजानुस्, फर्केर आउनुस् ।”

म फर्किँदै गर्दा बटारसम्म आइपुगेको थिएँ, त्यतिबेला “ढुंगे बजार सिध्यायो” भन्ने खबर आयो ।

ढुंगे बजारमा यसरी बाढी पस्ला भन्ने हामीले जीवनमा कल्पना पनि गरेका थिएनौँ। त्यहाँसम्म खोला उफ्रेर आउला भन्ने अनुमान नै थिएन। अहिले तपाईंहरू गएर हेर्न सक्नुहुन्छ ।

बाढी यस्तो आयो कि हामीले साउथ इन्डियन फिल्महरूमा वा अन्य फिल्ममा समुद्रको ठूलो छाल आएको देख्थ्यौँ नि, त्योभन्दा पनि डरलाग्दो थियो। हेर्दाहेर्दै सामान बगाइरहेको थियो। न सामान तान्न जान सकिने, न केही बचाउन सकिने ।

मेरा ममी–बुवालाई पाँच सेकेन्डको फरकले बचाउन सकेँ। फोन गरेर “तुरुन्त भाग्नुस्” भनेपछि उहाँहरू निस्किनुभएको हो ।

म विदुर आइपुगेपछि घरबाट खबर आयो, “तल्लो बाटो नआइज, त्यो बाटो बगाइसक्यो, माथिल्लो बाटो आइज।” म माथि गएँ। आँखैअगाडि खोलाले ताण्डव गरिरहेको थियो। सामान सबै बगाइरहेको थियो ।

आफ्नो सामान जोगाउन मन नलाग्ने होइन, तर जान सक्ने अवस्था थिएन। अर्कोतिर छतमा मानिसहरू देखिन्थे। बच्चाहरू रोइरहेका, अलापविलाप गरिरहेका थिए। कसैले हामफाल्न खोजिरहेको अवस्था थियो । त्यस्तो दृश्य हेर्नुपर्‍यो ।

अहिले मेरो अवस्था के छ भने, म काठमाडौं जाँदा मसँग एक रुपैयाँ पनि थिएन। अहिले यहाँ आउँदा पनि ५०० रुपैयाँ भाडा मागेर आएको हुँ। मसँग पैसा छैन ।

बच्चाहरूको परीक्षा छ। मैले कसरी व्यवस्थापन गर्ने? मेरो पीडा कति छ भन्ने पीडितलाई मात्रै थाहा हुन्छ ।

अहिले त मैले मुख फोरेरै भन्नुपर्ने अवस्था आएको छ, मसँग भात खाने पैसा पनि छैन। “पैसा लेऊ” भनेर माग्नुपर्ने अवस्थामा पुगेको छु ।

बुबा–आमालाई जोगाएर मामाघरमा राखेको छु। अर्काको शरणमा राखेको छु। एक दिन, दुई दिन, तीन दिन बस्न सकिएला, तर सधैँ अर्काको घरमा त बस्न सकिँदैन ।

बितेर जाने साथीहरू त बितेरै जानुभयो। अब हाम्रो मुख्य समस्या पुनर्वास हो, अहिलेको तत्काल समस्या खानबस्नकै हो। महासंघले के गर्न सक्छ, थाहा छैन ।

मेरो पत्रिका पनि म बिरामी भएर भारतमा उपचार गराइरहेको अवस्थादेखि बन्द थियो। यो कुरा स्पष्टै भन्नुपर्छ। पत्रिका चलिरहेको थियो भनेर झूटो कुरा गरेर पनि हुँदैन ।

त्यो मेरो आफ्नै ब्रान्ड बनिसकेको पत्रिका थियो। अरू सम्पत्ति त फेरि जोड्न सकिएला, तर पत्रकारिता सुरु गरेदेखि संकलन गरेका डकुमेन्टहरू अब पैसा खर्च गरेर पनि फिर्ता ल्याउन सकिँदैनन्। मेरा पुराना अभिलेख, सामग्री सबै गए । प्रयोगमा रहेका दुईवटा ल्यापटप पनि बगे ।

समस्या धेरै छ। अहिले त मलाई खानकै समस्या भइरहेको छ। म काठमाडौं हुँदै यहाँ आएको छु। आज बेलुका कहाँ बस्ने हो, त्यो पनि थाहा छैन ।
पारिपट्टि जाने पहुँच भएको भए, आफन्तकहाँ गएर बस्न सक्थेँ। तर पारिपट्टिको सम्पर्क नै विच्छेद भएको छ ।

अब होल्डिङ सेन्टरमा गएर बसूँ भने बाहिरका मानिसले “पत्रकार भएर होल्डिङ सेन्टरमा बसेको छ” भन्छन् । मानिसले बाहिरबाट पीडा बुझ्दैनन् ।
अर्को गम्भीर कुरा पनि छ । नुवाकोटमा अहिले ‘टुरिस्ट मिडिया’ धेरै भयो । वास्तविक पीडित कहाँ छन् भन्ने नबुझी, सजिलै भेटिएका मानिसलाई पीडित बनाएर मिडियामा बोलाउने अवस्था देखिएको छ ।

वास्तविक पीडितहरू कतै होल्डिङ सेन्टरमा छन्, कतै आफन्तको शरणमा छन्, कतै अर्को ठाउँमा पुगेका छन्। तर क्यामेरा अगाडि अर्कै मानिसहरू पुगिरहेका छन् ।

कुनै एउटा घरमा आठ–नौवटा कुकरसम्म राहत जम्मा भएको अवस्था छ भने वास्तविक पीडितले केही पनि नपाएको अवस्था पनि छ ।

आज बिहानकै एउटा घटना भन्छु । बटारका मानिससमेत राहत लिन पुगेको देखियो, जबकि बटारमा त्यति क्षति भएको छैन । कोही राहत पाउनकै लागि गुम्बामा गएर क्रियामा बसेको कुरा पनि सुनियो । वास्तविक पीडित र राहत लिने मानिस छुट्याउने समस्या भइरहेको छ ।

अब पुनर्वासको कुरा पछि होला। राज्यले केही गर्ला, स्थानीय निकायले केही गर्ला। तर अहिले महासंघले गर्न सक्ने हो भने, शून्य अवस्थामा पुगेका, परिवार मात्रै बचाएर बसेका पत्रकार साथीहरूलाई तत्काल सहयोग गरिदिनुपर्छ ।

मेरो अहिलेको आग्रह यति मात्रै हो ।

म यहाँबाट फेरि घरतिर जानुपर्ने छ। बाटो सफा हुँदैछ। कोठामा छिर्न सकिन्छ कि, केही बाँकी छ कि भन्ने सानो आशा मात्रै छ ।”

(बाढी प्रभावित सञ्चारकर्मीको अवस्था बुझ्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको अनुगमन टोली नुवाकोट पुग्दा पत्रकार किरण अधिकारीले भावविह्वल हुँदै सुनाएको) ।