१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग



अ+ अ-

भर्जिनिया, अमेरिका। अमेरिकाको भर्जिनिया राज्यमा विगत तीन वर्षदेखि धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएको ‘हाम्रो भजन समूह भर्जिनिया’ले नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको सहयोगका लागि रु. ५ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ।

समूहले आफ्नो कोषबाट १ हजार अमेरिकी डलर (करिब रु. १ लाख ५२ हजार) सहयोग गर्ने निर्णय गरी उक्त रकम नेपाल पठाइसकेको जनाएको छ। यसैगरी, समूहमा आबद्ध सदस्य तथा शुभेच्छुकहरूले व्यक्तिगत रूपमा समेत रु. ३ लाख ५० हजारभन्दा बढी रकम पीडितहरूको सहयोगका लागि पठाइसकेका छन्।

समूहका अध्यक्ष भरत सुबेदीका अनुसार समूहगत तथा व्यक्तिगत सहयोग गरी हालसम्म रु. ५ लाखभन्दा बढी रकम बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि जुटाइएको हो।

हाम्रो भजन समूहले विगत तीन वर्षदेखि नियमित रूपमा मासिक भजन–कीर्तन गर्दै आएको छ। साथै देउसी–भैलो लगायत विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा समेत समूहले सक्रिय सहभागिता जनाउँदै आएको छ।

अध्यक्ष सुबेदीले मानवीय सहयोगका लागि हौसला, प्रेरणा र उत्साह प्रदान गर्नुहुने समूहका वरिष्ठ संरक्षक हरिप्रसाद तिमिल्सिनासहित सम्पूर्ण सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

सुबेदीले धर्म र संस्कृति भजन–कीर्तन तथा चाडपर्वमा मात्र सीमित नभई दुःखमा परेका मानिसलाई साथ दिनु र आफ्नो क्षमताअनुसार सहयोग गर्नु पनि सामाजिक तथा मानवीय कर्तव्य भएको बताए।

“आज देखिएको एकता, सद्भाव, सेवाभाव र सहयोगी मन सधैं कायम रहोस्। आगामी दिनमा पनि दुःख र आवश्यकताको समयमा हामी सबै यसरी नै एकअर्काको साथमा उभिन सकौं,” अध्यक्ष सुबेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समूहले नेपालमा बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

हाम्रो भजन समूह भर्जिनियामा भरत सुबेदी, राजु अधिकारी, आकाश अधिकारी, राजेन्द्र तिमिल्सिना, शंकर तिमिल्सिना, बृहस्पति लम्साल, संसार पौडेल, सोमराज घिमिरे, प्रकाश आचार्य, विश्व सिग्देल, गणेश शिवाकोटी, नव अधिकारी, केशव सिग्देल, रमेश बाबु चापागाईं, सन्दीप बास्तोला र शोभाकान्त अधिकारीलगायत सदस्य रहेका छन्।