काठमाडौं । हालै आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्न सुबिसुले सेवा अवधि थप गरेको छ।
कम्पनीले बाढीका कारण प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने जनाएको छ।
भाद्र १० गते आएको बाढीपछि विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखु लगायतका क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको कम्पनीले जनाएको छ।
सुबिसुका प्रमुख सञ्चालन अधिकृत सुबास अधिकारीका अनुसार प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको काम निरन्तर भइरहेको छ।
“स्थानीय अवस्था तथा पहुँचलाई ध्यानमा राख्दै हाम्रा प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा सक्रिय रूपमा खटिरहेका छन्,” अधिकारीले भन्नुभयो, “सेवा पुनःस्थापनासँगै फिल्डमा खटिएका प्राविधिक टोलीहरूको सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखिएको छ।”
बाढीका कारण सेवा प्रयोग गर्न नपाएका ग्राहकको सेवा अवधि नघटोस् भन्ने उद्देश्यले थप ७ दिनको सेवा उपलब्ध गराइएको सुबिसुले स्पष्ट पारेको छ।
प्रभावित ग्राहकले सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि सुबिसुको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।









